काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले कांग्रेस सुध्रिन सके कसैको ‘वैशाखी’ टेक्नु नपर्ने बताएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले कांग्रेसले आत्मसुधार नगरे चारैतिर चुनौती नै चुनौती रहने चेतावनी दिए ।
कांग्रेस सुध्रिएर जनतामाझ जान सके तल्लो तहसम्म संगठन फैलिएको पार्टी भएकाले कुनै शक्तिको साहारामा हिँड्न नपर्ने केसीको भनाइ थियो । कांग्रेस आफैँ लोकतन्त्रको संरक्षक र संवाहक भएको जिकिर गर्दै उनले इतिहासका योगदान र विकासका एजेन्डासहित सुधारको प्रतिबद्धता लिएर अघि बढ्नुपर्ने बताए ।
उनले भने, ‘हामी सुध्रिएनौँ भने चारैतिर चुनौती नै चुनौती छ। हामी सुध्रियौँ भने गाउँ गाउँसम्म संगठन छ, इतिहासमा गरेका योगदान र विकासका कुराहरूलाई सुधार गर्दै अघि बढ्दा कांग्रेसले कसैको वैशाखी टेकेर हिँड्नुपर्दैन । कांग्रेस आफैँ लोकतन्त्रको संरक्षक र संवाहक हो ।’
यसैबिच, कांग्रेस नेता रामनाथ अधिकारीले पुस महिनाभित्र केन्द्रीय महाधिवेशन सम्पन्न गर्नुपर्ने भए पनि क्रियाशील सदस्यताका कारण केही समय सर्न सक्ने अवस्था रहेको बताए । उनले क्रियाशील सदस्यता टुंग्याएर छिटो महाधिवेशन गर्नुपर्नेमा जोड दिँदै त्यसका लागि आफ्नो पूरा प्रयास रहने बताए ।
अधिकारीले भने, ‘पुस महिनाभित्र केन्द्रीय महाधिवेशन गरिसक्नुपर्ने हो। क्रियाशील सदस्यताका कारण केही समय हेरफेर हुँदैछ भन्ने बुझिएको छ । दुई दिनभित्र सदस्यता टुंग्याएर जिल्लामा पठाए वडा तहबाट महाधिवेशन सम्पन्न हुनेछ। त्यसमा मेरो जोडबल रहन्छ ।’
नेता अधिकारीले आगामी निर्वाचन नलड्ने घोषणा गरिसके पनि पार्टी राजनीतिमा भने आफू सक्रिय रहने स्पष्ट पारे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया