रवि र बालेनलाई कांग्रेस नेता राठौरको चुनौती : ‘सहकारी ठग र गँजेडीहरुले १० वर्ष पार्टी चलाएर देखाउन्’

लोकपथ
273
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता किशोर सिंह राठौरले नयाँ राजनीतिक दलहरूलाई कम्तीमा १० वर्ष पार्टी सञ्चालन गरेर देखाउन चुनौती दिएका छन् ।

आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँगको कुराकानीमा राठौरले केही वर्षअघि मात्रै गठन भएका जनमत पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीको उदाहरण दिँदै दीर्घकालीन रूपमा पार्टी चलाएर देखाउन चुनौती दिएका हुन् । 

उनका अनुसार ठुला–ठुला र चर्का कुरा गर्ने नयाँ दलहरूले पाँच वर्ष पनि पार्टी सञ्चालन गर्न नसकेको टिप्पणी गरे ।

राठौरले नेपाली कांग्रेस, नेकपा एमालेलगायतका स्थापित दलहरूले लामो संघर्षमार्फत जनतालाई अधिकार र विकास दिएको दाबी गर्दै सहकारी ठग, दलाल र गँजेडीहरूले देश चलाउन नसक्ने टिप्पणी गरे ।

उनले भने, ‘यी नयाँ पार्टीहरू कुरा ठुला गर्छन् । १० वर्ष पार्टी चलाएर देखाउन्, त्यसपछि कुरा गरौँला। हामीले सबैलाई राजनीति गर्न पाउने वातावरण बनाउन दशकौँ संघर्ष गरेका हौँ ।’ 

उनले युक्रेनको उदाहरण दिँदै पपुलिस्ट छविका नेताहरू सत्तामा आउँदा त्यसको परिणाम मुलुकले भोग्नुपर्ने बताए ।  नेपालमा पनि गैर जिम्मेवार पार्टी र व्यक्तिहरूले देश चलाउन खोजे समस्या आउने उनको भनाइ थियो ।

भ्रष्टाचारबारे बोल्दै राठौरले कांग्रेसले धेरै उपलब्धि हासिल गरे पनि भ्रष्टाचार नियन्त्रण गर्न नसकिएको स्वीकार गरे । ‘अहिलेको सरकारले मात्र होइन, भोलि आउने सरकारले पनि भ्रष्टाचार पूर्ण रूपमा नियन्त्रण गर्न सक्दैन, ‘उनले भने ।

उनले पार्टीको १४औँ महाधिवेशनमा पराजित भएकाहरूले चिच्याएर बोल्न आवश्यक नरहेको टिप्पणी गर्दै फागुन २१ गते निर्वाचन नभए देश गृहयुद्धतर्फ जान सक्ने चेतावनी समेत दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?