काठमाडौं । अन्तिम अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) सँग कुरा नमिलेको विषयमा उज्यालो नेपाल पार्टीले मुख खोलेको छ ।
उर्जामन्त्री समेत रहेका उज्यालो पार्टीका संरक्षक कुलमान घिसिङले पोखरामा आयोजित पार्टीको एक कार्यक्रममा बोल्दै त्यसबारे स्पष्ट पारेका हुन् ।
आइतबार बिहान रास्वपाका सभापति रवि लामिछाने र बालेनबिच ७ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको छ । त्यसपछि सो बारेमा प्रतिक्रिया जनाउँदै कुलमानले पार्टीको स्वाभिमान र सम्मानजनक उपस्थिति नभएका कारण मिल्न नसकेको बताए । साथै आफूहरूको पार्टीको सम्मानजनक उपस्थिति र स्वाभिमान कायम हुने भएमा अझै मिल्न तयार रहेको बताए ।
उनले भनेका छन् :
सबै वैकल्पिक शक्तिहरू एक भएर जानुपर्छ, मिलेर जानुपर्छ । नभए पनि कार्यगत एकता गरेर भने पनि अघि बढ्नुपर्छ । आजको दिनमा नेपाली जनताले सबै वैकल्पिक शक्तिहरू एक भएर अगाडी बढोस् र नयाँ नेतृत्व देओस् भन्ने चाहना छ । त्यसलाई बुझेर हामीले त्यसतर्फ अघि बढ्नुपर्नेछ ।
उज्यालो पार्टी नेपाल आफ्नो सम्मानजनक उपस्थिति र सम्मानजनक स्वाभिमान छ त्यसलाई यथास्थितिमा राखेर त्यसलाई नमेटाइकन सहकार्य गर्न तयार छ । सहकार्य गरेरै अगाडी बढ्ने हो । यसतर्फ धेरै कुराहरू भइरहेको छ, आगामी दिनहरूमा त्यसको रिजल्ट आउने विश्वास व्यक्त गर्दछु ।
त्यसो त जेनजी आन्दोलनको राप र तापमा बनेको कुलमान संरक्षक रहेको पार्टीले समेत रास्वपा र बालेनसँग मिलेर अघि बढ्ने तयारी गरेको थियो । तर समाहितपछि उज्यालो पार्टीको पहिचान रास्वपामै मिल्ने र रास्वपाकै चुनाव चिह्न र सिद्धान्त अनुसार अघि बढ्नुपर्ने भन्दै कुलमानले असहमति जनाएका थिए । त्यति मात्र नभएर निर्वाचन लगायत अन्य विषयमा रविले थोरै हिस्सेदारी दिने भएपछि तत्कालका लागि एकता गर्नबाट कुलमान रोकिएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया