काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले देश जोगाउन निर्वाचनअघि नै राजा, राजनीतिक दल र नवयुवा पुस्तासहित सबै सरोकारवालाबिच नयाँ राष्ट्रिय समझदारी आवश्यक रहेको बताएका छन् ।
झापाको बिर्तामोडमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले अहिलेको संवैधानिक व्यवस्था र त्यसअन्तर्गत हुने निर्वाचनले देशलाई संकटबाट बाहिर निकाल्न नसक्ने जिकिर गरे । उनले वर्तमान गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र संविधानकै ढाँचाबाट देश अघि बढ्न नसक्ने दाबी गरे ।
अध्यक्ष लिङ्देनले अहिलेकै व्यवस्थामा हुने निर्वाचनले भविष्यमा झनै ठुलो द्वन्द्व निम्त्याउने खतरा रहेको उल्लेख गर्दै देश गम्भीर दुर्घटनाको डिलमा पुगेको बताए ।
‘यही संविधान र यही व्यवस्थाअन्तर्गत हुने चुनावले देशलाई अझ ठुलो द्वन्द्वतर्फ लैजान सक्छ,‘उनले भने, ‘देश बचाउने हो भने चुनावअघि नै राजा, राजनीतिक दल, नवयुवा पुस्ता र सबै सरोकारवालाबिच कसैले नहार्ने र देशले जित्ने नयाँ समझदारी गर्नुपर्छ।’
उनले नेपाली मन र नेपालीपन जीवित रहेसम्म वर्तमान प्रणालीबाट देश उँभो लाग्न नसक्ने धारणा राखे । साथै, भदौ २३ र २४ गते भएका घटनाहरूले देश कति संवेदनशील अवस्थामा पुगेको छ भन्ने स्पष्ट भएको बताए ।
अध्यक्ष लिङ्देनले ठुला दलहरूमाथि कटाक्ष गर्दै कांग्रेस र कम्युनिष्टले आफ्नो राजनीतिक चरित्र नै बदलिसकेको टिप्पणी गरे । माओवादीले समेत पहिचान लुकाउन नाम परिवर्तन गरेको आरोप लगाउँदै उनले यिनै शक्तिहरूले देश चलाइरहेको दाबी गरे ।
उनले भने, ‘कुनै दलको जित–हार होइन, देशको भविष्य सुरक्षित गर्ने साझा समझदारी आजको आवश्यकता हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया