राष्ट्रिय टिमसँग संयुक्त कराँते प्रशिक्षण सुरु

लोकपथ
28
Shares

काठमाडौं । राष्ट्रिय टिमका प्रशिक्षक तथा खेलाडीहरूको सहभागितामा राष्ट्रिय टिमसँग संयुक्त कराँते प्रशिक्षण भएको छ । 

नेपाल कराँतेको आयोजनामा हुने प्रशिक्षणमा विद्यालयस्तरका खेलाडीहरूको वृद्धि, विकास र हौसला अभिवृद्धि गर्ने उद्देश्यले निःशुल्क संयुक्त कराँते प्रशिक्षण कार्यक्रम भएको हो । कार्यक्रम सातदोबाटो कराँते हलमा आयोजना भएको छ । 

उपत्यका भित्रका विभिन्न स्कुल तथा डोजोमा प्रशिक्षणरत ५ सय भन्दा बढी विद्यार्थीलाई निःशुल्क संयुक्त कराँते प्रशिक्षण प्रदान गरिने बताइएको छ । 

प्रशिक्षणमा राष्ट्रिय टिमका मुख्य प्रशिक्षक कुशल श्रेष्ठ, काता प्रशिक्षक मण्डेकाजी श्रेष्ठ, स्टार खेलाडी एरिका गुरुङ, सानुमाया थिङ लगायत हाल ‘मिसन २०२६’ को प्रशिक्षणमा रहेका राष्ट्रिय टिमका खेलाडीहरूको सहभागिता रहनेछ । 

हरेक शनिबार निरन्तर रूपमा निःशुल्क प्रशिक्षण प्रदान गर्दै आएको यो कार्यक्रम नवौँ हप्तामा प्रवेश गरेको अवसरमा विशेष बनाइएको र सहभागी सम्पूर्ण खेलाडीहरूलाई निःशुल्क च्याम्पियनहरुको हस्ताक्षर सहितको टिसर्ट प्रदान गरिने बताइएको छ । 

कार्यक्रमले विद्यालय स्तरका खेलाडीलाई सही मार्ग दर्शन, प्रेरणा र राष्ट्रिय टिमसम्म पुग्ने लक्ष्यमा सहयोग पुर्‍याउने विश्वास लिइएको छ । 

हाल उपत्यका लक्षित गरिएको कार्यक्रम आवश्यकताअनुसार सातै प्रदेशमा गरिने पनि आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?