‘न्यायपालिकाले मुद्दा छिटो किनारा लगाउने प्रयास गरिरहेको छ तर प्रक्रियागत चुनौतीहरू छन्’

लोकपथ
77
Shares

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठले न्यायपालिकाले मुद्दाहरूलाई छिटो निस्तारण गर्ने प्रयास गरिरहेको बताएका छन् । संघीय इकाईहरुको विधायकी अधिकार सम्बन्धी विवाद निरुपणमा संवैधानिक इजलासले खेलेको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा उनले यो जानकारी दिएका हुन् ।

न्यायाधीश श्रेष्ठका अनुसार, अदालतले मुद्दाको प्रकृति र उपलब्ध जानकारीअनुसार प्राथमिकता दिने गर्छ। यस कारण केही मुद्दा तीन महिनाभित्रै फैसला हुने गरेको छ । तथ्यांकअनुसार हालसम्म कम्तीमा १५० मुद्दा तीन महिनाभित्र निस्तारित भएका छन् । तर सात वर्ष पुराना मुद्दा अझै बाँकी रहेको र यसको मुख्य कारण प्रक्रियागत जटिलता र स्रोतसाधनको कमी भएको उनले उल्लेख गरे ।

उनी भन्छन्, ‘न्यायाधीश संख्या २५ बाट घटेर २१ पुगेको छ र मुद्दाको संख्या ९–१० हजारबाट बढेर २६–२७ हजार पुगेको अवस्थामा न्यायपालिकालाई दोष मात्र दिन मिल्दैन। संघीय प्रणालीमा अवशिष्ट अधिकार संघमा राखिएको हाम्रो अभ्यासलाई अन्य देशहरूसँग तुलना गर्दा हाम्रो न्यायपालिका संविधानको संरक्षक र स्वतन्त्रताको संरक्षणमा केन्द्रित रहनु आवश्यक छ ।’

न्यायाधीश श्रेष्ठले न्यायिक समितिहरूको अनुगमन र निरीक्षणमा एकरूपता ल्याउन हालै निर्देशिकाको मस्यौदा तयार गरिएको जानकारी पनि दिएका छन् । यसमा न्यायिक समितिका पदाधिकारीहरूको सुझाव समावेश गरिएको छ र चाँडै सर्वोच्च अदालतको पूर्ण बैठकबाट पारित हुने अपेक्षा गरिएको छ ।

उनले भने, ‘न्यायपालिका आफ्ना सीमित स्रोत र साधन भित्र रहेर आफ्नो भूमिका प्रभावकारी बनाउन निरन्तर प्रयासरत छ। यसका लागि सबै पक्षको गम्भीर सरोकार आवश्यक छ। हामी न्यायपालिकाको योगदानप्रति गर्व महसुस गर्छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?