गगनको आरोप– ‘बदनियत राखेर क्रियाशील टुंग्याइएन, कार्यवाहक दिए पनि देउवा शक्तिमै’

लोकपथ
224
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कतिपय स्थानमा बदनियत राखेर क्रियाशीलको टुंगो नलगाइएको आरोप लगाएका छन् ।

आजबाट सुरु भएको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सो कुरा बताएका हुन् । महाधिवेशनको मिति नजिकिँदै गर्दा समेत कतिपय स्थानमा स्वभाविक र कतिपय स्थानमा बदनियत राखेरै क्रियाशीलको काम अड्काइएको आरोप लगाए ।

महामन्त्री थापाले आफूले बैठकमा क्रियाशील विवाद टुंगो लगाउनका लागि प्रतिनिधिलाई फिल्डमै खटाउनेदेखि क्रियाशील टुंगो नलगाउनेलाई महाधिवेशनमा भाग नै लिन नपाउने गरी काम अघि बढाउनुपर्ने प्रस्ताव राखेको बताए ।
‘क्रियाशीलका सन्दर्भमा धेरै ठाउँहरुमा विवादहरु छन् । केही ठाउँहरुमा बदनियतको साथ क्रियाशीलको काम अगाडि बढ्न दिइएको छैन । यो कुरालाई लिएर आज मैले एउटा प्रस्ताव गरेको छु । क्रियाशील सदस्यको विषयमा स्वभाविक रुपले विवाद भएको र बदनियत राखिएको ठाउँहरुमा नेपाली कांग्रेसको यो बैठकले तत्कालै सर्वाधिकार सम्पन्न प्रतिनिधि केही दिनका लागि तल फिल्डमै पठाउने प्रश्ताव राखेको छु । तल गएका साथीहरु विधानले दिएको अधिकार प्रयोग गरेर क्रियाशीलको विवाद टुंग्याउनुहुन्छ । त्यसो गर्दाखेरी बहुसंख्यक ठाउँहरुमा हाम्रो क्रियाशीलको विवादहरु टुंगिन्छ । त्यसो गर्दा पनि समस्या समाधान नभएको क्षेत्रमा पुरानै क्रियाशीलताको आधारमा कामहरु अगाडि बढ्छ कि त्यो ठाउँले महाधिवेशनमा भाग लिन पाउँदैन,’ महामन्त्री थापाले भने ।

केही जिल्लामा विवाद खडा गरेको बहानामा महाधिवेशन प्रभावित पार्न खोजिए सो स्थानमा कारबाही प्रक्रिया अघि बढाएर भए पनि महाधिवेशनको कार्यतालिका अघि बढाउनुपर्ने बताए । त्यति मात्र नभइ १५औँ महाधिवेशनको मिति नजिकिँदै गर्दा पनि क्रियाशीलको विवाद रहेका कारण केही दिन महाधिवेशनको पूर्वनिर्धारित मिति संशोधन गरेर भए पनि महाधिवेशनको काम अघि बढ्नुपर्नेमा जोड दिए ।

‘एकदुई जिल्लामा विवाद खडा गरेर महाधिवेशन प्रभावित गर्ने कार्य हुन्छ भने त्यही अनुसारको कारबाही हुनुपर्छ भन्ने मेरो प्रताव हो । यसो गर्दा पनि हामीले अहिले बनाएको कार्यतालिकालाई केही सामान्य संशोधन गर्नुपर्ने हुन्छ । यो संशोधन गरेर पुस १६ गते गर्ने भनिएको वडा अधिवेशन पुस २१ गते गरौँ र २३ गते क्षेत्रीय अधिवेशन गरौँ ।
त्यसपछि तोकिएकै मितिमा हामीले केन्द्रीय महाधिवेशन गर्ने हो । महाधिवेशनको अन्तिम तिथिमिति चलाउनु हुदैन, पाइँदैन,’ उनले भने ।

त्यस्तै महामन्त्री थापाले पार्टी सभापति शेरबहादुर देउवाले कार्यवाहक दिएको भएपनि आफैँ शक्ति अभ्यास गरिरहेको भन्दै आपत्ति जनाए । कार्यवाहक दिए पनि आफैँ शक्तिमा रहेको र आजको बैठकमा समेत उपस्थित नभएको भन्दै आपत्ति जनाए ।

उनले भने, ‘म सभापतिलाई आग्रह गर्छु, किनकी उहाँले कार्यवाहक दिनुभएको छ । तर यो कार्यवाहक नाम मात्रैको छ । आज वैठकमा आउनुभएको छैन । तर बाँकी रहेको वैठक, बाँकी रहेको शक्ति सबै त्यहीँबाट अभ्यास भइरहेको छ ।’

त्यस्तै पार्टीभित्रको अहिलेको समस्या समाधान गर्नका लागि सभापति देउवाले भूमिका खेल्नुपर्नेमा समेत जोड दिए ।

महामन्त्री थापाले सभापति देउवाले कार्यवाहक दिँदैगर्दाको अवस्थामा देशभरका कांग्रेसीहरुमा उत्साह आएको तर अहिले आफैँ शक्ति सञ्चय गरेको आक्षेप लगाए । साथै अहिले पनि पार्टी कार्यालयमा आएर विशेष महाधिवेशनबाट भए पनि पार्टीको नेतृत्व परिवर्तन गरेर कांग्रेस निर्वाचनमा जाने वातावरण तय गर्न समेत आग्रह गरे ।

‘यही कार्यालयमा आएर सभापतिले पार्टीको हितका लागि तपाईंहरु मिल्नुस, मंसिरभित्र अधिवेशन गर्नुस, म सबै कुराबाट अलग भएर गएँ भनेको दिन देशभरका साथीहरुले सभापतिले अभिभावकीय भूमिका निर्वाह गर्ने बोध गरेका थिए,’ सभापतिलाई आग्रह गर्दै महामन्त्री थापाले भने, ‘फेरि अपेक्षा गर्छौं कि पार्टीको अधिवेशनका सन्दर्भमा निर्वाह गर्नुपर्ने भूमिका होइन भने विशेष महाधिवेशनबाट भए पनि पार्टीलाई नयाँ नेतृत्व दिन्छु र त्यो नयाँ नेतृत्वले चुनाव हाँक्छ भन्ने सभापतिको ठाउँबाट भुमिका निर्वाह गर्ने अपेक्षा राख्छु । जे निर्णय गर्नुपर्ने यही वैठकबाट हुन्छ ।’

कांग्रेसले आगामी पुस २६ गतेबाट केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका तय गरे पनि क्रियाशील विवादका कारण महाधिवेशनको मिति सार्न समेत आजको बैठकमा सुझाव आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?