राजनीतिक दलहरु निर्वाचनमा लागेको देख्दा उत्साहित भएका छौँ : सञ्चारमन्त्री खरेल

लोकपथ
35
Shares

काठमाडौं । अन्तरिम सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर उचित वातावरण बनिसकेको दाबी गरेका छन् ।

जनमत पार्टीको केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री खरेलले सबै राजनीतिक दलहरू निर्वाचनका लागि तयार रहेको र आवश्यक तयारी अघि बढाइरहेको आफूले पाएको जानकारी दिए। उनका अनुसार जनमत पार्टी पनि निर्वाचनका लागि तयारी अवस्थामा रहेको छ ।

मन्त्री खरेलले सरकारको तर्फबाट प्रमुख राजनीतिक दलहरूको पार्टी कार्यालयमै पुगेर छलफल गरिएको उल्लेख गर्दै त्यसबाट सकारात्मक सन्देश प्राप्त भएको बताए । ‘हामी जति राजनीतिक दलहरूको कार्यालयमा गएका छौँ, सबैले चुनावको वातावरण बनिसकेको र निर्वाचनका लागि तयार रहेको सन्देश दिएका छन्, उनले भने, ‘यसले सरकारलाई उत्साहित बनाएको छ ।’

उनले आगामी फागुन २१ गते सरकारले प्रतिनिधिसभा सदस्य निर्वाचन गराउने स्पष्ट गर्दै सबै दललाई चुनावी प्रक्रियामा सहभागी हुन आग्रह गरे ।

सरकारद्वारा गठन गरिएको राजनीतिक संवाद समितिको तर्फबाट कानूनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री खरेल तथा प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख सल्लाहकार अजयभद्र खनाल विभिन्न राजनीतिक दलहरूको कार्यालयमा पुगेर निर्वाचनको वातावरण निर्माणमा सहयोग गर्न आग्रह गर्दै आएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?