सशस्त्रका डीआईजी श्रेष्ठद्वारा आफ्‌नै अफिसरहरूमाथि अश्लील र आमाचकारी गालीगलौज, मुख्यालयले थाल्यो छानबिन

लोकपथ
5k
Shares

काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ पशुपति बाहिनी मुख्यालय काठमाडौंका बाहिनीपति सुरेशकुमार श्रेष्ठविरुद्ध गृहमन्त्रीलाई सम्बोधन गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेलो सरकारमा परेको उजुरी र गुनासोलाई लिएर सशस्त्र प्रहरी बल प्रधान कार्यालयले छानबिन सुरु गरेको छ ।

सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) श्रेष्ठविरुद्ध परेको उजुरी र गुनासोलाई लिएर कानुन निर्देशनालय प्रमुख सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) युवराज अर्यालले बाहिनीमा कार्यरत अधिकृतहरूलाई ६ बुँदे प्रश्न मार्फत्‌ पछिसम्म फरक नपर्नेगरी सत्य तथ्यसहितको विवरण पेस गर्न भनेका छन् ।

२०८२ साल मंसिर ११ गते साँझ करिब साढे ५ बजे सशस्त्र प्रहरी अधिकृतहरूलाई सामेल गरी उनीहरूलाई विभिन्न प्रकारका अपशब्द, अश्लील, घर परिवारका मानिस र आमाचकारी गालीगलौज एवं दुर्व्यवहार गरेको सम्बन्धमा बाहिनीपति श्रेष्ठविरुद्ध उजुरी परेपछि सशस्त्र मुख्यालयले घटनाबारे सत्य तथ्य जान्न चाहेको हो । 

मुख्यालयले के, कुन विषयमा केन्द्रित रही बाहिनीपति श्रेष्ठले कार्यरत अधिकृतहरूलाई ब्रिफिङ गरेको हो ? ब्रिफिङका सम्बन्धमा बाहिनीपतिबाट संगठनको नीतिविपरीत विभिन्न प्रकारका अपशब्द, अश्लील, घर परिवारका मानिस र आमाचकारी गालीगलौज एवं दुर्व्यवहार भएको हो ? ब्रिफिङमा कुन कुन दर्जाका सशस्त्र प्रहरी कर्मचारी सामेली थिए ? भन्नेसहित ६ बुँदे प्रश्न गरेको छ । 

कुनै पनि सशस्त्र प्रहरी अधिकृतबाट कुनै पनि प्रकारको गल्ती भए सशस्त्र प्रहरी नियमावलीबमोजिम विभागीय कारबाही गर्नुपर्नेमा त्यसो नगरी सबै अधिकृतलाई सामेल गरी बिनाकारण झन्डै २० मिनेटसम्म दुर्व्यवहार गरेको आरोप बाहिनीपति श्रेष्ठमाथि छ । यस्तै, बाहिनीमा कार्यरत सबै सशस्त्र प्रहरी अधिकृतलाई सामेलीमा बोलाई ब्रिफिङ गर्नुपर्नेमा सोसमेत नगरी तथानाम आमाचकारी गालीगलौज गरेको आरोप पनि उनीमाथि छ । 

यस्तै, बाहिनीपति श्रेष्ठका स्टाफ अफिसर सशस्त्र प्रहरी निरीक्षक नमप्रभाव राईले गर्ने गरेको व्यवहारलाई लिएर पनि सशस्त्र मुख्यालयले जान्न चाहेको छ । सशस्त्र प्रहरी निरीक्षक राईले बाहिनीपतिले झैँ आफूभन्दा सिनियरलाई निर्देशन दिने गरेको, सम्मानजनक व्यवहार नगर्ने गरेको, बाहिनीपति श्रेष्ठको आडमा चेन अफ कमान्डको समेत उल्लंघन गर्ने गरेको, आफूभन्दा तल्लो तहका सशस्त्र प्रहरी कर्मचारीलाई समेत दुर्व्यवहार गर्ने गरेको आरोप छ । 

बाहिनीपति श्रेष्ठविरुद्ध यी विषयमा गृहमन्त्रीलाई सम्बोधन गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेलो सरकारमा उजुरी र गुनासो परेपछि सशस्त्र प्रहरी बल प्रधान कार्यालयले छानबिन सुरु गरेको हो ।

स्रोतका अनुसार, सशस्त्र मुख्यालयले बाहिनीमा कार्यरत सबै अफिसरलाई मेलमा पत्र पठाई सोको जवाफ दिन भनेको छ । तर आफूहरूले मेलबाट दिने जवाफ रेकर्डेड हुने भएकाले सत्य तथ्य लेख्न नसकिने र आफूहरूले गोप्यरुपमा जवाफ दिन पाउनु पर्ने उनीहरूको माग रहेको छ । 

बाहिनीपति श्रेष्ठ सिसं १ सशस्त्र प्रहरी निरीक्षक बेसिकका पहिलो नम्बरका डीआईजी हुन् । 

नम्बर ९ पशुपति बाहिनी मुख्यालय काठमाडौंमा बाहिनीपतिका रूपमा आएपछि उनी विवादै विवादमा मुछिँदै आएका छन् । गत चैत १५ गते भएको दुर्गा प्रसाईंको आन्दोलनमा पनि उनीबाट सुरक्षा व्यवस्थामा गम्भीर चुक भएको थियो । 

यस्तै भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा पनि आवश्यक सुरक्षा व्यवस्था मिलाउन नसकेको आरोप पनि उनीमाथि छ । जसबाट सशस्त्र प्रहरीको हतियार लुटिन गएको, गाडीहरू जलेको र सशस्त्रकै भौतिक सम्पत्तिमा क्षति पुग्न गएको थियो । २४ गते भने उनी आफ्‌नो टोली छाडेर हाफ पेन्ट लगाएर झ्यालबाट भागेको बताइएको छ । 

त्यस दिन भएको जेनजी प्रदर्शनमा हतियार र बन्दोबस्तीका सामान जोगाउन नसकेको भन्दै श्रेष्ठमातहतकै एक डीएसपीलाई पनि कारबाहीको सिफारिस गरिएको छ । आन्तरिक छानबिन गर्न गठित समितिले मिनभवनस्थित तत्कालीन बेसका प्रमुख डीएसपी गौतम कुँवरसहित १३ सशस्त्र प्रहरी कर्मचारीलाई कारबाही गर्न सिफारिस गरेको हो । 

जेनजी प्रदर्शन हुँदा भदौ २४ मा मिनभवनस्थित सशस्त्र प्रहरीको बेस र झापाको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरको सुरक्षामा खटिएको सशस्त्रको हतियार लुटपाट र आगजनी भएको थियो । 

जेनजी प्रदर्शन हुँदा गौतम नेतृत्वको टिमले आफ्नो कमान्डमा रहेको सुरक्षा बेस र हातहतियार जोगाउन नसकेको आन्तरिक छानबिन समितिको आरोप छ । प्रदर्शनकारीले यातायात व्यवस्था कार्यालय र सशस्त्रको बेसमा तोडफोड र आगजनी गरेका थिए । सशस्त्रको बेस यातायात व्यवस्था कार्यालय परिसरमा थियो ।

मिनभवनमा अवस्थित बेस अहिले त्यहाँबाट स्थानान्तरण गरिएको छ । मिनभवनमा अहिले नम्बर–९ पशुपति बाहिनीको मुख्यालय स्थापना गरिएको छ ।

जेनजी प्रदर्शनमा मिनभवनबाट केही थान एसएलआर हराएको थियो । त्यसमध्ये केही हतियार जलेको अवस्थामा भेटिएको जनाइएको छ । बानेश्वरबाट लुटिएको सशस्त्रको एउटा एसएलआर भक्तपुरमा भेटिएको थियो । चाँगुनारायण नगरपालिका–९ ब्रम्हायणीमा भेटिएको हतियारमा नम्बर–२० गण २९० लेखिएको थियो । 

भदौ २४ मा बेसबाट हतियार लुटिनु र जल्नुमा ‘सुरक्षा चुक’ देखिएको आन्तरिक छानबिनको निष्कर्ष छ । प्रदर्शनमा सशस्त्र प्रहरीको ५० भन्दा बढी सवारी साधनामा आगजनी गरिएको थियो । नयाँ बानेश्वर.स्थित संसद् भवन, सिंहदरबार, रानीपोखरी र भैंसेपाटीस्थित मन्त्री क्वार्टरमा सशस्त्रको गाडीमा आगजनी गरिएको थियो । 

जेनजी प्रदर्शनमा भएको सुरक्षा व्यवस्थालाई लिएर गौरीबहादुर कार्की नेतृत्वको छानबिन समितिले बाहिनीपति श्रेष्ठसँग पनि बयान लिएको थियो । 

बाहिनीपति श्रेष्ठमाथि कमसल गुणस्तर भएको खाना खुवाउने गरेको आरोप पनि छ । सुनसरीमा एसपी हुँदा तानिएका उनीमाथि लामापाटनको समादेशक हुँदा मुद्दा नै परेको थियो । यस्तै, २१ नम्बर दक्षिणकाली गणको गणपति हुँदा पनि रासनमा घोटाला गरेको आरोप पनि उनीमाथि थियो । त्यसबेला मुख्यालयले त्यहाँ टोली नै पठाएर छापा मारेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?