भारतबाट चोरी गरिएको गाडी नेपालमा नक्कली नम्बर प्लेट राखेर चलाएपछि…

लोकपथ
819
Shares

काठमाडौं । भारतबाट चोरी गरी ल्याई नक्कली नम्बर प्लेट प्रयोग गरेर सञ्चालन गरिरहेको पाँचवटा बोलेरो गाडी कोशी प्रदेश ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

ट्राफिक प्रहरी कार्यालयले आज इटहरीमा पत्रकार सम्मेलनको आयोजना गरी नियमित जाँच तथा अभिलेख परीक्षणका क्रममा ‘इन्जिन’ नम्बर परिवर्तन, रि–पञ्च गरिएको, रङ परिवर्तन, दर्ता अभिलेख नपुगेको तथा नक्कली नम्बर प्लेट प्रयोग गरिएको अवस्थामा ती बोलेरो गाडी नियन्त्रणमा लिइएको कोशी प्रदेश ट्राफिक प्रहरी व्यवस्थापन कार्यालय, इटहरीका प्रहरी उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

नियन्त्रणमा लिइएका सवारीसाधनमध्ये को१ज ११११ नम्बरको बोलेरो गाडी सवारी दर्ता किताबमा उल्लेख भएको इन्जिन नम्बर एफ ३१ एल ३२७६४ भए पनि सवारीमा जडान गरिएको इन्जिन नम्बर डिडब्लु ४६०२३ भेटिएको छ । उक्त सवारीको चेसिस नम्बर एमएआइएनभी २ एएफए ४२ ए १०६३३ रहेको छ ।

त्यसैगरी ना२च ७२९५ नम्बरको सवारीसाधनमा परिवर्तन गरिएको इन्जिन अभिलेखअनुसार नपाइएको, रङ परिवर्तन गरिएको तथा जीजी ८१ एफ ४१४८४ र जीए ९४ एल ६९४८१ इन्जिन नम्बर उल्लेख रहेको पाइएको छ ।

ना १ ज १५८३ नम्बरको सवारीसाधन यातायात व्यवस्था कार्यालय नारायणीको अभिलेखमा नपरेको तथा सवारी दर्ता किताबसमेत सङ्कलन नभएको पाइएको छ ।

यसैगरी ना३च ३९२८ नम्बरको सवारीसाधन कम्पनीबाट आयात नभएको अवस्थामा इन्जिन नम्बर रि–पञ्च गरिएको पाइएको प्रहरीले जनाएको छ ।

त्यसैगरी ग१च ६६८४ नम्बरको सवारीसाधन आयातकर्ता कम्पनीले आयात नगरेको तथा यातायात व्यवस्था कार्यालय गण्डकीले विवरण उपलब्ध नगराएको पाइएको छ । उक्त सवारीको चेसिस नम्बर एमए १ एक्सबी २ जीएफके ७२इ२६५८६ रहेको छ ।

नियन्त्रणमा लिइएका सबै सवारीसाधन चोरी पैठारी तथा नक्कली नम्बर प्लेट प्रयोगसँग सम्बन्धित हुनसक्ने आशङ्कामा आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय, इटहरीमा बुझाउन तयारी गरिएको उपरीक्षक गिरिले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?