सञ्चारमन्त्री खरेलको तीन महिना, के–के भयो उपलब्धी ?

लोकपथ
91
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जिम्मेवारी सम्हालेको तीन महिनाको अवधिमा हासिल गरेको उपलब्धीबारे ब्रिफिङ गरेका छन् । गत असोज ६ गते सञ्चारमन्त्रीको रुपमा नेतृत्व लिएका खरेलले आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर उपलब्धीबारे जानकारी गराएका हुन् ।

सिंहदरबारस्थित मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खरेलले तीन महिनामा सम्पन्न भएका आमसञ्चार, दूरसञ्चार, सूचना प्रविधि, हुलाक सेवा, मुद्रण, चलचित्र र अन्य विभिन्न क्षेत्रका ३० उपलब्धिहरू सार्वजनिक गरेका हुन् । उनले सो अवधिमा उल्लेखनीय कार्य सम्पादन गरेको बताए ।

मन्त्री खरेलले भने, ‘धेरै चुनौतीका बीच यति मुख्य उपलब्धि हासिल भएका छन् । आगामी दिनमा इमान्दारिकता साथ काम गरिन्छ ।’

यसअवधिमा सूचना तथा प्रसारण विभागबाटै अनलाइन दर्ता तथा नवीकरण, सुरक्षण मुद्रण केन्द्रबाट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइको कामदेखि दुर्गम क्षेत्रमा दूरसञ्चारको पहुँच, सगरमाथाको आधार शिविरमा ‘फोरजी’ सेवा विस्तारसम्मका महत्वपूर्ण काम भएका छन् । मन्त्री खरेलले तीन महिनाको अवधिमा आमसञ्चार क्षेत्रमा सूचना तथा प्रसारण विभागबाटै अनलाइन दर्ता तथा नवीकरण, एनटिभि वल्र्डको शुभारम्भ, स्व पत्रकार सुरेश रजकलाई सहिद घोषणा, गोरखापत्रमा कुलुङ भाषा थपसहित ४६ भाषामा समाचार तथा रेख रचना प्रकाशन भएको जानकारी दिए ।

यस्तै दूरसञ्चार क्षेत्रमा निःशुल्क वाइफाइ इन्टरनेटतर्फ काठमाडौं उपत्यकाका १९ सार्वजनिक स्थानमा जडान गरिएको र उपत्यका बाहिर २९ स्थानमा वाइफाइ जडानका लागि पक्रिया अघि बढाइएको मन्त्री खरेलले जानकारी दिए । सुदूरपश्चिम प्रदेशमा १५ वायरलेस साइट जडान गरिएको, नेपाल टेलिकमको सक्रिय ग्राहक सङ्ख्या दुई लाख वृद्धि, जेनजी डाटा प्याक कार्यान्वयन, एभरेष्ट वेस क्याम्पमा फोरजी सेवा विस्तारलगायतका कार्य सम्पन्न गरिएका उनले बताए ।

मन्त्री खरेलले जेनजी घाइते पत्रकार सम्मान, जेनजी आन्दोलनको क्षतिको विवरण तयार, सरकारी सञ्चार माध्यममा कार्यरत पत्रकार तथा कर्मचारी सामाजिक सुरक्षा कोषमा आबद्धतालगायतका उपलब्धि सार्वजनिक गरे ।

‘मुलुक निर्वाचनमा होमियो’

सरकारका प्रवक्तासमेत रहेका मन्त्री खरेलले मुलुक निर्वाचनमा होमिएको बताए । उनले राजनीतिक दल, निर्वाचन आयोग, सरकार र जनता सबैतिर निर्वाचनको वातावरण छाएको उल्लेख गरे ।

सञ्चारमन्त्री खरेलले भने, ‘मुलुक अहिले निर्वाचनमा होमिसकेको अवस्था छ । सरकारले निर्वाचनको वातावरण बनाइसकेको छ । सबै राजनीतिक दल, निर्वाचन आयोग र जनता सबैतिर अहिले निर्वाचनको वातावरण छाएको छ ।’

मन्त्री खरेलले सरकारले जेनजी आन्दोलनको भावनाअनुसार सुशासन प्रवद्र्धन र भ्रष्टाचार नियन्त्रणको क्षेत्रमा काम गरिरहेको बताए ।

उनले भने, ‘आगामी फागुन २१ गते निर्वाचन हुने वातावरण बनिरहेको छ । त्यसको साथै सुशासनलाई आत्मासात् गर्दै सुशीला कार्की नेतृत्वको सरकारले काम अघि बढाएको छ । भ्रष्टाचार नियन्त्रणको सन्दर्भमा पनि सरकारको तर्फबाट गर्नुपर्ने कामहरु भई नै रहेका छन् । समग्रमा यो नागरिक सरकार भएकाले जेनजी आन्दोलनको मर्मअनुसार अघि बढेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?