प्रधानमन्त्री कार्कीले सुहाङलाई सोधिन्– ‘चुनावमा उठ्ने के छ विचार ?’

लोकपथ
952
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र स्थिरताका लागि प्रतिनिधि सभाको निर्वाचन तोकिएकै समयमा हुनुपर्ने बताएकी छन् ।

प्रधानमन्त्री कार्कीले इलाम क्षेत्र नं २ का निवर्तमान सांसद सुहाङ नेम्बाङ नेतृत्वको एक प्रतिनिधिमण्डलसँग सिंहदरबारमा भएको भेटमा यो सरकार चुनाव गराउनैका लागि आएकाले अब कुनै दुविधा नराखी चुनावको तयारी गर्न पनि आग्रह गरिन् ।

उनले भनिन्, ‘हामी चुनाव गराउनै लागिरहेका छौँ । असामान्य अवस्थामा शान्ति स्थापना र चुनाव गराउनकै लागि आएका हौँ । शान्ति स्थापना र कानुनको शासन बहालीमा सफलता मिलेको छ । अबको हाम्रो लक्ष्य चुनाव गराउने हो । चुनाव भए मात्र मुलुकमा अब दिगो शान्ति र स्थायित्व सुनिश्चित हुन्छ ।’

प्रधानमन्त्रीको कुरा सुनेपछि नेता नेम्बाङले प्रधानमन्त्री कार्कीलाई चुनाव गराउन सफलता मिलोस् भन्दै शुभकामना दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

‘हाम्रो शुभेच्छा छ, शुभकामना छ,’ उनले भने, ‘चुनाव गराउन सफल हुनुहोस् ।’

प्रधानमन्त्री कार्कीले नेम्बाङसँग चुनावमा उठ्ने तयारी के छ भनेर पनि जिज्ञासा राखेकी थिइन् ।

प्रतिक्रियामा नेम्बाङले चुनावको तयारी गरिरहेको प्रतिक्रिया दिए ।

प्रधानमन्त्री कार्कीले नेम्बाङलाई शुभकामना दिँदै अब युवा नै अघि सर्नुपर्ने धारणा राखेकी छिन् ।

‘चुनाव हुन्छ । तयारी अवस्थामा रहनू । तपाईँहरुजस्तो युवा आउनुपर्छ र देशको बागडोर सम्हाल्नुपर्छ । अनि मात्र देशमा केही न केही हुन्छ । बाँसको कलमले अक्षर लेख्न सिकेकाहरुले स्मार्टफोनसँगै जन्मिएकाहरुमाथि शासन गरेर हुँदैन । पुरानाको अनुभव र सल्लाह काम लाग्ला तर चालक सिटमा युवा नै आउनुपर्छ । देश युवाले नै हाँक्नुपर्छ । युवामा साहस हुन्छ, ऊर्जा हुन्छ। उसले साहसिक पाइला पनि चाल्न सक्छ ।’

नेम्बाङले इलाममा बाढीपहिरोका कारण क्षतिग्रस्ता राजमार्ग र पुल पुनःनिर्माणमा तदारुकता देखाउनुपर्ने भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण पनि गराए ।

प्रधानमन्त्री कार्कीले हालै भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले स्थलगत अवलोकन निरीक्षण गरी फर्किएको र यस विषयमा सरकार गम्भीर रहेको जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?