बागमती नदीमा तैरिने फोहोर रोक्न ट्रास बेरियर जडान

लोकपथ
182
Shares

काठमाडौं । सहरी विकास मन्त्रालयअन्तर्गत अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले काठमाडौं उपत्यकाका नदीमा तैरिने फोहोर संकलन गर्न ट्रास बेरियर जडान सुरु गरेको छ ।

समितिका अनुसार हाल गुह्वेश्वरी क्षेत्रमा ट्रास बेरियर जडान सम्पन्न भइसकेको छ । बागमती नदीका गोकर्ण ब्यारेज, गुह्वेश्वरी, तिलगंगा आँखा अस्पताल, बागमती–मनोहरा दोभान, युएन पार्क तथा मनोहरा नदीको कर्मनाशा दोभान गरी जम्मा ६ स्थानमा ट्रास बेरियर राख्ने काम भइरहेको छ ।

यी ६ स्थानमा ट्रास बेरियर जडानका लागि करिब ६५ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको जनाइएको छ । ट्रास बेरियरले नदीको सतहमा तैरिने प्लास्टिक, पोलिथिन, बोतल, काठका टुक्रा लगायतका फोहोरलाई रोक्दै एक निश्चित स्थानमा संकलन गर्नेछ ।

काठमाडौं उपत्यकाका बागमती, विष्णुमती, मनोहरा र धोबीखोलामा शहरीकरण र अव्यवस्थित फोहोर व्यवस्थापनका कारण ठुलो मात्रामा तैरिने फोहोर बग्ने गरेको छ । ट्रास बेरियर जडानले नदीको बहाव अवरुद्ध नगरी फोहोर मात्र संकलन गर्न सकिने भएकाले नदी प्रदूषण न्यूनीकरणमा सहयोग पुग्ने समितिले जनाएको छ ।

ट्रास बेरियरबाट संकलित फोहोरलाई नियमित रूपमा निकालेर वर्गीकरण, पुनः प्रयोग तथा सुरक्षित व्यवस्थापन गर्ने योजना पनि रहेको छ । यसबाट नदीको सौन्दर्य वृद्धि, जलचर जीवको संरक्षण तथा सार्वजनिक स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।

समितिका अनुसार जडान हुने ट्रास बेरियर रबरको कन्भेयर बेल्ट र तैरिने संरचनासहितको हुनेछ । पानीको सतह घटबढसँगै ट्रास बेरियर पनि तलमाथि हुने भएकाले नदीको प्राकृतिक बहावमा असर नपर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?