महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएन : योगेश भट्टराई

लोकपथ
994
Shares

काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीको ११औँ महाधिवेशनमा स्वच्छ र मर्यादित प्रतिस्पर्धाको वातावरण नबनेको आरोप लगाएका छन् । 

ईश्वर पोखरेल समूहले आयोजना गरेको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रतिनिधि छनोटदेखि बन्द सत्र सञ्चालन र निर्वाचनसम्म पार्टी संरचनाको दुरुपयोग भएको दाबी गरे ।

भट्टराईले यस्तो अवस्थाले पार्टीभित्रको आन्तरिक लोकतान्त्रिक अभ्यासमाथि गम्भीर प्रश्न उठाएको बताए । संगठन विभागलगायतका निकायको दुरुपयोगमार्फत आन्तरिक लोकतन्त्रलाई अस्वस्थ बनाउने प्रयास भएको भन्दै उनले त्यसप्रति चिन्ता व्यक्त गरे । आगामी दिनमा यसबारे थप समीक्षा गरिने र २६, २७ र २८ गते बस्ने केन्द्रीय कमिटी बैठकमा पनि विषय उठाइने उनले जानकारी दिए ।

लोकतान्त्रिक अभ्यासमा सहभागी भइसकेकाले आएको परिणामलाई स्वीकार गर्ने स्पष्ट पार्दै भट्टराईले अध्यक्ष केपी शर्मा ओलीलाई निर्वाचित भएकोमा बधाई दिए । अध्यक्ष ओलीले ल्याउने सकारात्मक प्रस्तावलाई समर्थन गर्ने तर पार्टी एकता खण्डित गर्ने, पक्षपातपूर्ण, गुटबन्दी र विभाजन निम्त्याउने प्रस्ताव आए कडा प्रतिवाद गर्ने उनको भनाइ छ ।

आगामी निर्वाचनलगायत बाह्य प्रतिस्पर्धामा पार्टी एकजुट भएर अघि बढ्ने प्रतिबद्धता जनाउँदै उनले विचारका आधारमा पार्टीभित्रको अन्तरसंघर्ष भने निरन्तर रहने बताए । अध्यक्ष ओलीको व्यवहारमा परिवर्तन नआएको उल्लेख गर्दै सामूहिक निर्णय र नेतृत्व हस्तान्तरणको एजेन्डा उठाइरहने उनले बताए ।

महाधिवेशनमा आफ्नो पक्षले अपेक्षित सफलता हासिल गर्न नसकेको विषयमा पनि समीक्षा गर्ने निर्णय भेलाले गरेको जानकारी दिँदै भट्टराईले निर्वाचनमा पराजित भएकाहरूलाई विचलित नभई पार्टी निर्माणमा लाग्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?