एमाले ११औँ महाधिवेशन : सकियो मतदान, खसेन शतप्रतिशत भोट, ३६ जना अनुपस्थित

लोकपथ
455
Shares

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएको छ । 

काठमाडौंको भृकुटीमण्डपमा बुधबार बिहान करिब सवा ९ बजेदेखि सुरु भएको मतदान बिहीबार बिहान करिब पौने ७ बजे सकिएको हो ।

निर्वाचन आयोगका अनुसार महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि कुल २ हजार २ सय ६३ प्रतिनिधि चयन भए पनि शतप्रतिशत मतदान भने हुन सकेन । 

महाधिवेशनस्थलमा ८० वटा विद्युतीय मतदान मेसिनमार्फत मतदान गरिएको थियो । आयोगका अनुसार मतगणना सम्पन्न भइसकेको छ र मतपरिणाम आजै सार्वजनिक गरिनेछ ।

एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको मतदानमा ३६ जना प्रतिनिधि अनुपस्थित भएका छन् । 

केन्द्रीय कमिटीका नेता, विभिन्न आयोगका पदाधिकारी, विभागीय जिम्मेवारीमा रहेका व्यक्ति तथा महाधिवेशन प्रतिनिधिसमेत मतदानमा सहभागी नभएका हुन् ।

मतदानमा अनुपस्थित केन्द्रीय कमिटी सदस्यहरूमा मुकुन्द न्यौपाने, बसन्त नेम्वाङ, बालकृष्ण काउछा मगर, ब्रिजेश गुप्ता, राजकुमार गुप्ता र हरि बहादुर राजवंशी रहेका छन् ।

अनुशासन आयोगतर्फ पोष्ट कुमार नेपाल, सरस्वती गौतम, सतिलाल राजवंशी र प्रदीप प्याकुरेल अनुपस्थित देखिएका छन् । यस्तै, निर्वाचन आयोगका समिर नेपाल र रचना राजोपाध्याय तथा लेखा आयोगका अशोक केसी पनि मतदानमा सहभागी भएनन् । विभागतर्फ धनश्याम कोइराला र संजीव रोकाहा अनुपस्थित रहेका छन् ।

महाधिवेशन प्रतिनिधितर्फ कृष्णमाया भुजेल (झापा), लक्ष्मी यादव (बारा), शत्रुधन प्रसाद सिंह (सिरहा), राजेन्द्र प्रसाद यादव (पर्सा), अशु आनन्द (पर्सा), मनोजकुमार गुप्ता (पर्सा), विजय कापर (सप्तरी), जितेन्द्र चौधरी (महोत्तरी), दानबहादुर बिक, बब्लु शिवाकोटी, सिर्जना नेपाली (प्रवास), अशिम कोइराला, दिनेश बास्तोला, गिरिराज बेलबासे, राजेन्द्र अर्याल, मिना पोख्रेल, तेजकुमार विक, पल्लवराज भट्ट, तिलक रिजाल र गोमा नेपाली मतदानमा अनुपस्थित रहेका छन् ।

केही प्रतिनिधि भने मतदानस्थलमा उपस्थित भए पनि आवश्यक कार्ड नहुँदा मतदान गर्न नपाएको जनाइएको छ ।

कार्यक्रमअनुसार आज बिहान ११ बजे भृकुटीमण्डपमै मतपरिणाम घोषणा, निर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण तथा शपथग्रहण कार्यक्रम आयोजना गरिने छ ।

एमालेको नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेल आ–आफ्नो प्यानलसहित प्रतिस्पर्धामा रहेका छन् । दुवै प्यानलमा नपरेका केही नेताहरूले स्वतन्त्र उम्मेदवारीसमेत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?