काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत बुधबार बिहान ८ बजेबाट सुरु भएको मतदान जारी छ ।
काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको मतदान १० घण्टादेखि चलिरहेको छ । तर हालसम्म ८ सय हाराहारीमा मात्रै प्रतिनिधिहरुले मतदान गरेका छन् ।
शनिबारबाट सुरु भएको एमाले महाधिवेशनको मतदान मंगलबारबाटै सुरु हुने भनिएको थियो । तर प्राविधिक समस्याका कारण बुधबार बिहानबाट मात्रै सुरु भएको हो ।
विद्युतीय माध्यमबाट भइरहेको मतदान धेरै प्रतिनिधिहरु रहेका कारण ढिलाई भएको प्राविधिक लक्ष्मण रिमालले लोकपथलाई जानकारी दिए ।
उनका अनुसार फोटो हेरेर मात्रै मतदान गर्दा छिटो हुने तर लिस्ट हेरेर गर्नुपर्दा ढिला भएको उनको दाबी छ ।
‘फोटो हेरेर मतदान गर्दा छिटो हुन्थ्यो । तर लिस्ट हेरेर गर्दा लामो समय लागेको हो,’ रिमालले लोकपथसँग भने ।
एउटै प्रतिनिधिले मतदानका लागि लामो समय लगाएका कारण आज रातभर मतदान हुनेछ । बिहीबार बिहान ३–४ बजेसम्म मतदानको समय लाग्नसक्ने रिमालको दाबी रहेको छ ।
‘एकै प्रतिनिधिले आफ्नो मत दायर गर्न लामो समय लगाएका कारण मतदान सुस्त गतिमा भएको हो,’ उनले भने, ‘यही गतिले हुने हो भने बिहीबार बिहान ३–४ बज्न सक्छ ।’
उनका अनुसार छिटो गर्न सक्ने प्रतिनिधिले २५ मिनेट र ढिलो गर्ने प्रतिनिधिले साढे १ घण्टासम्म पनि मतदानका लागि लगाएका छन् ।
‘छिटो गर्ने प्रतिनिधिहरुले २५ मिनेटमै मतदान सकाउनु पनि भएको छ । तर केही प्रतिनिधिहरुले भने साढे १ घण्टासम्म लगाउनु भएको छ,’ उनले लोकपथसँग भने ।
मतदान गर्न नपाएका प्रतिनिधिहरु रातभर मतदानस्थल भृकुटीमण्डपमा रहनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया