जनकपुर । नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एमाले नेतालाई पक्राउ गरेको छ ।
गत कात्तिक २२ गते धनुषाको जानकी चोकस्थित एक होटलमा १३ वर्षीया नाबालिकालाई दुई दिनसम्म बन्धक बनाएर जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले मंगलबार राति एमाले नेता शिवशंकर साह (हिरा) लाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, सो घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले जनकपुरधाम उपमहानगरपालिका–१० बस्ने मनोजकुमार साहलाई यसअघि नै पक्राउ गरिसकेको छ । काठमाडौंबाट पक्राउ परेका उनलाई जनकपुर ल्याइसकिएको छ । मनोजकै बयानका आधारमा प्रहरीले एमाले नेता शिवशंकरलाई पक्राउ गरेको हो । पक्राउअघि प्रहरीले शिवशंकरसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी लिएको थियो । पक्राउ पुर्जी लिइएका दुई जना भने फरार छन् ।
प्रहरीले बलात्कारमा परेकी नाबालिकाकी मामा सञ्जय महासेठलाई पनि जनकपुरबाट पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) गणेशबहादुर बमले महासेठले घटनालाई कानुनी दायरामा नलगी मिलाउने प्रयास गरेको र पीडित पक्षबाटै रकमसमेत लिएको पाइएकाले पक्राउ गरिएको जानकारी दिए ।
गत स्थानीय तह निर्वाचनमा शिवशंकर नेकपा एमालेबाट मेयरका उम्मेदवार थिए । उनी जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष तथा मधेस प्रदेश उद्योग वाणिज्य संघका संस्थापक अध्यक्षसमेत हुन् भने एमालेको आसन्न ११औँ महाधिवेशनका लागि उनी धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि छनोट भएका थिए ।
प्रहरीका अनुसार पीडित पक्षले दिएको उजुरीका आधारमा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको जानकारी पाउनासाथ उनी भारततर्फ फरार भएका थिए । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार उनी फरार भएपछि प्रहरीले निगरानी बढाउँदै भारतीय काउन्टर पार्टसँग समन्वय गरी बिहार राज्यको सीतामढी जिल्लाबाट पक्राउ गरी उनलाई जनकपुर ल्याइएको हो ।
उनी पक्राउ परेपछि धनुषा प्रहरी प्रमुख एसपी रुगमबहादुर कुँवरको नेतृत्वमा अनुसन्धान अघि बढाइएको छ । केही राजनीतिक दबाब आए पनि प्रहरीले जघन्य अपराधमा संलग्न सबैलाई कानुनको दायरामा ल्याइने स्पष्ट पारेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया