चिरिबाबुको दाबी– ‘मैले जे बोलेको थिएँ ललितपुरमा ती सबै पूरा गरेँ’

लोकपथ
140
Shares

काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले आफ्नो नगरपालिकाले सबै नगरपालिकाहरु भन्दा राम्रो काम गरेको दाबी गरेका छन् ।

२२औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस–२०८२ को अवसरमा शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

मेयर महर्जनले आफूले बोलेका सबै कुरा पूरा गरेको दाबी समेत गरे । आफूले बोलेका सबै कुराहरु पूरा हुने गरी काम गरेको उनको जिकिर थियो ।

मेयर महर्जनले राम्रो काम गरेका कारण नै आफ्नो महानगरपालिकाले वर्ष २–३ वटा भन्दा बढी राष्ट्रिय स्तरको पुरस्कार पाउने गरेको समेत उल्लेख गरे । उनले सबै भन्दा राम्रो काम गरेको भनेर पहिचान दिलाउने काममा मातहतका निकायको महत्वपूर्ण भुमिका रहेको भन्दै आभार समेत व्यक्त गरे ।

मेयर महर्जनले भने, ‘हामीले गरेका कामको स्तरको निर्धारण हामी आफैँले गरेको होइन । तर आम नेपाली दाजुभाई दिदीबहिनीहरु चाहे त्यो पूर्वमेचीको किन नहोस्, चाहे त्यो पश्चिम महाकाली किन नहोस् । ललितपुर महानगरपालिका भन्नसाथ साह्रै राम्रो काम गर्ने पालिका हो भनेर सबका सब चिनिन्छ । अब यसमा स्वास्थ्य क्षेत्रमा काम गरेको कामको निमित्त म तपाईहरुलाई क्रेडिट दिन चाहन्छु । हामी चुनावमा जितेर आएका व्यक्तिहरु स्वास्थ्य क्षेत्रमा हाम्रो विज्ञता छैन । तपाईले जे भन्नुहुन्छ, जे सुझाव दिनुहुन्छ । ती सुझावहरु हामीले ग्रहण गर्छौ । कार्यान्वयन गर्छौ । तसर्थ तपाईहरुले दिनुभएको सुझाव, तपाईहरुले गर्नु भएको कन्ट्रिव्युशन, तपाईहरुको जुन एक किसिमको लगनशीलता छ । त्यसको नतिजा हो यो । हामी ललितपुर महानगरपालिकाले प्रत्येक वर्ष २/३ वटा राष्ट्रिय स्तरको पुरस्कार प्राप्त गर्दै आईरहेका छौँ । अस्तीको दिनमा मात्रै संघीय सरकारले अपांगताको क्षेत्रमा सबै नगरपालिका भन्दा राम्रो काम गरेको भन्दै हामीलाई पुरस्कृत गरेको छ । यो पुरस्कारहरु पाउनु भनेको पनि टिम वर्कको परिणाम हो । हामी जसरी सफलीभुत भईरहेका छौ । यसका लागि पनि यहाँहरुलाई हार्दिक हार्दिक धन्यवाद गर्न चाहेँ । हामी जे बोल्छौ, त्यो पूरा गर्छौँ ।’

मेयर महर्जनले टिम वर्कमा काम गरेको हुनाले ललितपुर महानगरपालिकाले एक पछि अर्को सफलता हासिल गर्दै गएको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?