चितवन कारागारमा क्षमताभन्दा बढी कैदी, ३० जना त्रिपालमुनि बस्न बाध्य

लोकपथ
28
Shares

चितवन । जिल्ला कारागार चितवनमा कैदीबन्दीको संख्या क्षमताभन्दा धेरै बढेपछि ३० जनालाई त्रिपालमुनि राख्नुपरेको छ । भवनभित्र सुत्ने ठाउँ नपुगेपछि उनीहरूले रात त्रिपालमुनिमै बिताउन बाध्य भएका हुन् ।

जेनजी आन्दोलनपछि भागेर फर्किएका ४६ कैदीबन्दीलाई स्थानान्तरण गर्दा कोठाभित्र ठाउँ अभाव भएको कारागारका प्रमुख रवीन्द्रप्रसाद ढुङ्गानाले बताए। उनका अनुसार दुई ठाउँमा १५–१५ जना गरी ३० जनालाई त्रिपालमुनि बसाइएको छ ।

ढुङ्गानाले विगतमा पनि कैदीबन्दीलाई त्रिपालमुनि बस्नुपर्ने अवस्था दोहोरिएको बताउँदै गत आर्थिक वर्षमा केही स्थानमा जस्तापाता हालिएको जानकारी दिए । ‘भित्र बस्ने ठाउँ पर्याप्त छैन, चिसोका बेला त्रिपालमुनि बस्दा बिरामी पर्लान् कि भन्ने डर छ,‘उनले भने ।

कारागारमा अहिले ६३० कैदीबन्दी रहेका छन् । तीमध्ये ५९३ पुरुष, ३७ महिला र दुई आश्रित छन् । कारागारको क्षमता भने ४७५ पुरुष र ३० महिलाको मात्र हो ।

गत भदौ २५ गते भागेका ७४३ मध्ये अझै ११३ कैदीबन्दी फर्किन बाँकी छन्। ती फर्किएपछि त्रिपालमुनि बस्ने कैदीबन्दीको संख्या अझ बढ्न सक्ने कारागार प्रशासनको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?