राष्ट्रपतिद्वारा उधौलीको शुभकामना

लोकपथ
77
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन् ।

राष्ट्रपतिले प्रकृतिसँग गहिरो सम्बन्ध राख्ने किराँत समुदायको यो पर्वले नेपालका सबै जातजाति र समुदायबिच आपसी सद्भाव, सामाजिक एकता र पारस्परिक सहकार्यलाई सुदृढ गर्दै आएको उल्लेख गरेका छन् । आफ्नो सन्देशमा उनले उधौलीजस्ता सांस्कृतिक पर्वहरूले विविधतायुक्त नेपाली समाजलाई एउटा साझा पहिचानमा बाँध्ने महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन् ।

‘उधौली पर्वले मानव जीवन र प्रकृतिबिचको सम्बन्ध, वातावरण अनुकूल जीवनशैली, श्रमको सम्मान, सांस्कृतिक संरक्षण र पूर्वजप्रतिको आस्था अझ मजबुत बनाएको छ,’ राष्ट्रपति पौडेलले सन्देशमा उल्लेख गरेका छन् । उनले यो पर्वले सहिष्णुता, भ्रातृत्व र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे ।

किराँत समुदायका राई, लिम्बु, सुनुवार र याक्खा जातिका मानिसहरूले परम्परागत वेशभूषा धारण गरी सामूहिक साकेला नृत्यसहित विविध संस्कृतिक कार्यक्रम आयोजना गर्दै उधौली पर्व मनाउने परम्परा छ ।

जाडो मौसम सुरु भई मानिस, पशुपक्षी तथा चराचुरुङ्गीले लेकबाट बेँसीतिर बसाइँ सर्ने समय आएको संकेतस्वरूप मनाइने यो पर्वमा नयाँ अन्नबाली पितृलाई समर्पण गरी पूजा गर्ने र भूमिको उर्वरता तथा अन्नबालीको समृद्धिको कामना गर्ने चलन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?