काठमाडौं । असुरक्षित तथा अप्राकृतिक यौन सम्पर्क वा यौनजन्य क्रियाकलापबाट सर्न सक्ने रोगलाई यौनजन्य रोग भनिन्छ । यस्ता रोग कुनै विशेष वर्ग वा समुदायमा सीमित नभई व्यक्तिको यौन जीवनका अभ्यासमा निर्भर गरेर फैलन्छ । यी रोग विभिन्न ब्याक्टेरिया, भाइरस, परजीवी वा फंगसका कारण उत्पन्न हुन्छन् ।
नेपालमा पनि यौनजन्य रोगको संक्रमण घट्न सकेको छैन, यद्यपि धेरै जसो मानिसहरू यस्ता रोग लुकाएरै बस्न चाहन्छन् । यौन रोगका बारेमा सकेसम्म कुरै नगर्ने वा लुकाउने गर्नाले यस्ता समस्या बढिरहेका छन् । यसै सन्दर्भमा मूत्र रोग विशेषज्ञ डा. दीपक रौनियारसँग यौन रोगका प्रकार, कारण, सजगता र उपचारका सम्बन्धमा लोकपथले गरेको कुराकानी :
हाम्रो समाजमा यौन जीवनबारे खुला रूपमा कुरा गर्ने चलन नभएको कारण धेरैले समस्या भए पनि धेरै ढिला गरेर मात्रै चिकित्सकको सम्पर्कमा पुग्ने गरेका छन् । यौन रोगले व्यक्तिगत स्वास्थ्य मात्र नभई मानसिक र सामाजिक स्वास्थ्यमा पनि असर पुर्याउन सक्छ । त्यही भएर यौन रोगको संक्रमण भएमा वा शंका लागेमा पनि तत्कालै चिकित्सकलाई सम्पर्क गरी चेकजाँच र उपचार गराउनुपर्छ ।
धेरै मानिसहरूलाई त यौनरोग के हो ? भन्ने पनि थाहा नहुन सक्छ । पहिले यौन रोग के हो, कस्तो लक्षण देखिएमा यौन रोग लागेको आशंका गर्ने हो, त्यसबारेमा बुझ्नु जरुरी छ ।
यौन रोगका सामान्य लक्षणहरू तल भनिए अनुसारमा हुन्छन् र त्यस्तो लक्षण देखिएमा तत्कालै चिकित्सकको सम्पर्कमा पुग्नु पर्दछ ।
–यौन अंगमा रातोपन, रंग परिवर्तन वा सुन्निने समस्या
–मूत्र वा प्रजनन अंगबाट असामान्य रङ्ग वा गन्धयुक्त स्राव
–पिसाब गर्दा जलन वा दुखाइ
–यौन सम्पर्कमा असहजता वा पीडा हुनु
–शरीरमा चक्कर, ज्वरो, थकाइ लाग्नु
–केही अवस्थामा छालामा घाउ, फोका वा रगत आउने
यी लक्षण देखिएमा ढिला नगरी विशेषज्ञको सल्लाह लिनु अति आवश्यक छ । समयमै उपचार गराउने हो भने यौन रोगले शरीर र मानसिक स्वास्थ्यमा पर्ने असर घटाउन सकिन्छ । समयमै चिकित्सकसँग परामर्श लिएर जाँच र उपचारले संक्रमण रोक्न र स्वास्थ्य सुरक्षित राख्न मद्दत गर्छ ।
–यौन रोगबाट बच्न सधैँ कन्डमको प्रयोग गर्ने
–अनावश्यक यौन सम्पर्कबाट टाढा रहने
–नियमित स्वास्थ्य परीक्षण गराउने
–यौन स्वास्थ्य सम्बन्धी जानकारी र शिक्षा लिने
–संक्रमण देखिए तत्काल चिकित्सकसँग परामर्श लिने
सुरक्षा र सचेतनाले मात्र यौन रोगको जोखिम घटाउन सक्छ । व्यक्तिगत स्वास्थ्यप्रति सजग रहनु सबैको दायित्व हो । सरकारी स्वास्थ्य कार्यक्रमहरूले पनि क्याम्प, सेमिनार र अनलाइन सूचना कार्यक्रममार्फत यौन स्वास्थ्य सम्बन्धी जनचेतना अभिवृद्धि गर्दै आएका छन् । अभियानले सुरक्षित यौन व्यवहार र यौन रोगबाट बच्न जनचेतना बढाउने लक्ष्य राखेको छ ।
यौनसम्बन्धी समस्या वा लक्षण देखिँदा पनि धेरै मानिस चिकित्सकलाई बताउन लजाउने गरेका छन् । लाज र सामाजिक डरकै कारण धेरैले उपचार सुरु गर्न ढिलाइ गर्दा यौन रोगका केसहरू बढ्दै गएको छ ।

विशेष गरी युवा वर्ग तथा विवाहित दुवै समूहका व्यक्तिहरू यौनसम्बन्धी समस्या खुलेर व्यक्त नगर्ने प्रवृत्ति देखिन्छ । यौन रोगको प्रारम्भिक लक्षण देखिँदा समयमै उपचार नलिए स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न हुन्छ । यौन रोग लुकाएर बस्दा रोग जटिल बन्नुका साथै साथीसमेत संक्रमित हुने जोखिम उच्च रहन्छ ।
स्वास्थ्य संस्थाहरूले यौनरोग सम्बन्धी सेवा गोपनीय र सहज रूपमा उपलब्ध गराइरहेका भए पनि सामाजिक संकोचका कारण धेरैले सेवा लिन हिचकिचाउने गरेको पाइएको छ । यौनजन्य रोग लुकाउने वा ढाक्ने प्रवृत्ति व्यक्तिको स्वास्थ्यमा मात्र नभई परिवार र सामाजिक जीवनमा पनि नकारात्मक असर पार्छ । सुरुमा लक्षण सामान्य जस्तो देखिए पनि रोग रोकथाम र उपचार नगरी छोड्दा जटिल समस्या निम्त्याउन सक्छ ।
लक्षण देखिनासाथ चिकित्सकको सल्लाह लिन र सुरक्षित यौन व्यवहार अपनाउन पर्छ ।
यौन रोग यौन सम्पर्कले मात्र सर्छ कि अरू कारणले पनि सर्छ ?
यौन रोग प्रायः यौन सम्पर्कबाट सर्ने रोगको रूपमा चिनिन्छ । यस्ता रोग केवल यौन सम्पर्कबाट मात्रै नभई अन्य माध्यमबाट पनि सर्न सक्छन् ।
यौन रोगका सामान्य संक्रमणका स्रोत यौन सम्पर्क भए पनि कतिपय रोग रगत साटासाट, दूषित सुई इन्जेक्सन, जन्मको समयमा आमाबाट शिशुमा सर्ने र व्यक्तिगत वस्तु (जस्तै तौलिया, लुगा वा ट्रिमिङ उपकरण) प्रयोग गर्दा पनि सर्न सक्छन् ।
धेरैले यौन रोग केवल यौन सम्पर्कबाट मात्र सर्छ भन्ने गलत धारणा राख्छन् । यसको कारणले लक्षण देखिएमा ढिला उपचार हुन सक्छ, जसले स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ ।
यौन रोग महिला र पुरुषमा कसलाई बढी देखिन्छ ?
पछिल्लो समय यौनरोग (एसटिआईरएसटीडी) महिलाभन्दा पुरुषमा बढी देखिएको छ । नेपालमा उपलब्ध तथ्यांक र अनुभवले पुरुषमा यौन रोगको प्रकोप बढी रहेको पुष्टि गर्छ ।
पुरुषमा यौनजन्य समस्या छिट्टै देखिन सक्छ र लक्षण स्पष्ट हुने भएकाले उपचारको खोजी पुरुषले बढी गर्ने सम्भावना रहन्छ । तर महिलामा पनि यौनरोग देखापर्ने घटना कम छैन । महिलामा लक्षण प्रायः लुकेको हुन सक्ने भएकाले समयमै परीक्षण र उपचार गराउन अत्यावश्यक हुन्छ ।
पुरुष र महिला दुवैले यौन रोगबाट बच्न सुरक्षा अपनाउन, नियमित स्वास्थ्य जाँच गराउन र यौनसम्बन्धी विषयमा खुला संवाद गर्नुपर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया