कञ्चनपुरमा अवैध रूपमा १३९ वटा काँचा रुख कटानी, अनुसन्धान अघि बढ्यो

लोकपथ
140
Shares

कञ्चनपुर । कृष्णपुर नगरपालिका–७ स्थित गौरीघाट सामुदायिक वनमा ठुलो मात्रामा अवैध रुख कटानी भएको खुलेपछि डिभिजन वन कार्यालय कञ्चनपुरले छानबिन प्रक्रिया अघि बढाएको छ ।

डिभिजन वन कार्यालयका प्रमुख सुरेशचन्द्र डिसीका अनुसार सामुदायिक वनभित्र ११६ खयर, २२ सिसौ र एक कन्जु गरी कुल १३९ वटा काँचा रुख अवैध रूपमा काटिएको पुष्टि भएको छ । सामुदायिक वनमा यति ठुलो संख्यामा रुख काटिएको जानकारी पाएपछि सवडिभिजन वन कार्यालय बाणीका प्रमुख भरत शाहलाई अनुसन्धान अधिकृतका रूपमा तोकिएको उनले बताए ।

डिसीका अनुसार सामुदायिक वनका अध्यक्ष र वडाध्यक्ष दुवै बाहिर रहेका बेला ‘फिल्मी शैलीमा’ योजनाबद्ध रूपमा रुख फडानी गरिएको देखिएको छ । ‘अनुगमन गर्दा व्यापक संख्यामा रुख काटिएको पायौँ,‘उनले भने ।

रुख काटेर लैजाँदा पनि ठुटाबाट बिगो निर्धारण गर्न सकिने बताउँदै प्रमुख डिसीले दोषी जो कोही भए पनि वन ऐनअनुसार कडा कारबाही गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘अनुसन्धानपछि जुनसुकै ओहदामा रहेको व्यक्ति भए पनि दोषी प्रमाणित भए कानुनी दायरामा ल्याइनेछ। उक्त घटनाबारे प्रदेश मन्त्रालयका सचिवसँग परामर्श गर्न लागेको छु, निर्देशनअनुसार थप कारबाही अघि बढ हुनेछ ।’

योजना अनुसार मंसिर ११ गते दिउँसो १ बजे रुख फडानी गरिएको वन कार्यालयले जनाएको छ । घटना स्थलको भिडियो तथा तस्बिर समेत कार्यालयमा प्राप्त भएको र दोषी पहिचानका आधारमा चाँडै कारबाही प्रक्रिया अघि बढाइने वन कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?