काठमाडौं । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले आइतबार साधारण समूह साधारण उपसमूहका ८ जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ । प्रशासनिक दृष्टिकोण तथा आवश्यकताअनुसार सरुवा गर्नुपर्ने भन्दै उनीहरुको सरुवा गरिएको हो ।
सशस्त्र प्रहरी बल नेपालको हालै स्वीकृत भएको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन–२०८२ लाई कार्यान्वयनमा ल्याउनेगरी सरुवा गरिएको हो ।
जसअनुसार, एसपी विक्रम होमागाईं र गेहेन्द्रबहादुर भण्डार दंगा नियन्त्रण रेजिमेन्ट गण नीलबाराही काठमाडौंमा सरुवा भएका छन् । सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को कमान्डमा रहने यो गणमा दुई एसपी, ७ डीएसपी, २० इन्सपेक्टरसहित ८ सय ४८ जनशक्ति रहने व्यवस्था गरिएको छ ।
काठमाडौ उपत्यकाको विद्यमान शान्ति सुरक्षालाई थप प्रभावकारी बनाउन सशस्त्र प्रहरी बल नेपाल नं. १८ नीलबाराही गण कीर्तिपुरलाई रेजिमेन्ट गणको रूपमा स्तरोन्नति गरी हुल तथा दंगा व्यवस्थापन विशेष गण बनाइएको हो ।
यसैगरी, एसपी रामकृष्ण महर्जनलाई नम्बर १८ गण हे.क्वा. (विशिष्ट व्यक्ति तथा महत्वपूर्ण प्रतिष्ठान सुरक्षा) बाघभैरव, काठमाडौं सरुवा गरिएको छ । यसअघि यहाँ नम्बर २४ बाघभैरव गुल्म थियो । सो गुल्मलाई गण बनाएसँगै यसको जनशक्ति पनि व्यवस्थापन हुने र थप सुरक्षा मजबुत हुने विश्वास गरिएको छ । यो गुल्मले महत्वपूर्ण प्रतिष्ठान तथा कूटनीतिक नियोगको सुरक्षा प्रदान गर्दै आएको थियो ।
यसैगरी, एसपी रामहरि अधिकारीलाई नम्बर ११ गण रौतहटको गणपतिका रूपमा सरुवा गरिएको छ । त्यहाँका गणपति सन्तोषकुमार बस्नेत साउन अन्तिम साता रौतहटमा बरामद भएको ६ सय बोराभन्दा बढी चिनी गायब बनाइएको प्रकरणमा दोषी ठहर भएपछि गत भदौ १५ गते उनलाई हटाएर अधिकारीलाई काजमा खटाइएको थियो । अहिले त्यहाँ अधिकारीकै सरुवा कायम गरिएको हो । चिनीकाण्डमा तत्कालीन गणपति बस्नेतलाई नसियत दिनुका साथै ३ वर्ष सीमा क्षेत्रमा पोस्टिङ नगरिने गरी कारबाही भएको थियो । उनलाई अहिले विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार सरुवा गरिएको छ ।
यसैगरी, नरेश भण्डारीलाई इन्टेलिजेन्स ब्युरो, रोशन घिमिरेलाई नम्बर ७ गण सिराहा र सुरेश गैरे मानवस्रोत विभागमा सरुवा भएका छन् ।
यसैगरी, स्वास्थ्यतर्फका ८ जना प्राविधिक डीएसपी र कानुन उपसमूहका दुई जना डीएसपीको पनि सरुवा गरिएको छ । कानुन समूहका डीएसपी बद्रि भुसाल र सत्यदेवी बस्नेतलाई मानवस्रोत विभाग सरुवा गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया