काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. मदनप्रसाद परियारले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघका पक्षराष्ट्रको सम्मेलनको ३० औँ श्रृङ्खला (कोप–३०) मार्फत हिमालको एजेण्डा विश्वव्यापी रुपमा स्थापित गर्न सफल भएको बताएका छन् ।
आइतबार राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री परियारले सो दाबी गरे । उनले कोप–३० मा नेपालको सहभागिता विगतको तुलनामा थप सफल र प्रभावकारी भएको दाबी गरे । उनले सम्मेलनमा हिमालको एजेण्डा उठाउँदै हिमाल संरक्षणको मुद्दालाई छुट्टै मुद्दाको रुपमा स्थापित गर्न सफल भएको पनि बताए । नेपालले उठाएको हिमालको मुद्दालाई अन्य साना तथा टापु राष्ट्रहरुले समेत समर्थन दिएको बताए । उनले हानि नोक्शानी कोषका कार्यकारी निर्देशकसमक्ष नेपाललाई क्षतिपूर्ति दिने सन्दर्भमा प्राथमिकतामा राख्न आग्रह गरेको उल्लेख पनि गरे ।
उनले भने, ‘विभिन्न कठिनाईका बाबजुद पनि कोप–३० नेपालका लागि सफल भयो जस्तो लाग्छ । कोप सम्मेलनमा म विगत ८–१० वर्षदेखि सहभागि हुँदै आइरहेको छु । अजरबैजानमा भएको कोपमा पनि थिएँ । दुवैमा भएको कोपमा पनि थिएँ । विगतका कोपहरुको तुलनमा हेर्दाखेरि यो वर्ष हाम्रो सानो समूहको सहभागि हुँदाहुँदै पनि यस पटकको कोपमा हाम्रा साथिहरुले धेरै मेहनत गर्नुभयो । हामीले ‘लस एण्ड ड्यामेज फन्ड’को कार्यकारी निर्देशकसँग भेट्ने मौका पायौं । भेटमा हामीले हानि नोक्शानीको प्रश्तावबारे जानकारी गराउँदै नेपाललाई विशेष ग्रायता दिन तथा प्रोजेक्ट दिनको लागि पनि अनुरोध गरेका छौं । उहाँहरु सरकारात्मक नै हुनुहुन्छ । सम्मेलनमा माउन्टेन एजेण्डालाई स्ट्रङ्ली पुटअप गर्न सकिएको छ । विभिन्न शीर्षकमा भएको समूहगत छलफलमा समेत नेपालको बलियो उपस्थिति भएको छ । विभिन्न देशका प्रतिनिधिहरुसँग समेत वार्ता र छलफल भएको छ । अझैपनि धेरै कुराहरु गर्नुपर्ने भएपनि हाम्रो यस पटकको कोपमा सहभागिता प्रभावकारी नै रह्यो ।’
उनले मुलुकको वर्तमान राजनीतिक कठिनाईका बीच कोपमा नेपालको सफल र प्रभावकारी सहभागिता रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया