चितवनको बघौडा अस्पतालका चिकित्सकमाथि आक्रमण गर्ने चार युवक पक्राउ

लोकपथ
112
Shares

 चितवन । माडी नगरपालिकास्थित बघौडा अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई  प्रहरीले पक्राउ गरेको छ । 

गत बिहीबार राति चार/पाँच जनाको समूहमा आएका युवाले चिकित्सक स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका थिए ।

इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक किरण राईले अस्पतालले शुक्रबार निवेदन दिएपछि चार जना आरोपीलाई पक्राउ गरिएको जानकारी दिए । 

पक्राउ पर्नेमा माडीका किरण खाती, सङ्गम तिवारी, विकास गुरुङ र प्रकाश गौतम रहेका छन् । 

प्रहरी निरीक्षक राईले भने, ‘चिकित्सकहरूले कुटपिटमा मुद्दा चलाउने भन्दै हुनुहुन्छ, कुटपिटको मुद्दा सिधैँ अदालतबाट चल्छ ।’ 

बघौडा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.धीरञ्जनकुमार साहका अनुसार मंसिर ११ गते राति १०ः१५ बजेको समयमा अस्पताल परिसरभित्रै आक्रमण भएको हो । 

युवाले मादक पदार्थ सेवन गरी आक्रमण गरेको उनको भनाइ छ । डा साहका अनुसार डा.दीपेन्द्र विश्वास, डा देवेन्द विश्वास, हे.अ.अनुप सुवेदी, कविराज तिवारीलगायत चिकित्सक स्वास्थ्यकर्मीमाथि घाउचोट हुने गरी कुटपिट भएको छ । उनीहरूले अपशब्द बोल्दै गालीगलौजसमेत गरेको उनले जानकारी दिए ।

नेपाल चिकित्सक संघ चितवनका वरिष्ठ उपाध्यक्ष डा.दीपेन्द्र न्यौपानेले दोषीलाई कानुनअनुसार हदैसम्मको कारबाही हुनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?