अहिलेको उपलब्धी संघीय लोकतान्त्रिक गणतन्त्रलाई टेकेर आएको हो : अध्यक्ष दाहाल

लोकपथ
63
Shares

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले देशले पाएको हालसम्मका प्रमुख उपलब्धिहरू संघीय लोकतान्त्रिक गणतन्त्रको जगमा आधारित रहेर हासिल भएको बताएका छन् । 

शुक्रबार काठमाडौंमा पत्रकार दीपेन्द्र शर्माको ‘युद्ध पत्रकारिता’ पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले शान्ति, संविधान र परिवर्तनका उपलब्धि सहज रूपमा प्राप्त नभएको स्मरण गराए ।

उनका अनुसार सशस्त्र द्वन्द्वका कठिन दिनहरूमा पत्रकारिताले ठुलो जोखिम मोलेर सत्य–तथ्य उजागर गरेको थियो। आफूले समेत भारतमा रहँदै नेपाली क्रान्तिका पक्षमा पत्रकारिता गरेको उनले बताए । दाहालले भने, ‘युद्धताका वैधानिक रूपमा चलेका पत्रपत्रिका र पत्रकारले पनि धेरै दमन सहनुपर्‍यो । त्यो वियोग, संघर्ष र बलिदानीपछि आजको गणतन्त्र प्राप्त भएको हो ।’

समारोहमा उनले मायाप्रसाद शर्मा (पूर्व पारसमणि) जाजरकोट इन्चार्ज रहँदा लिएको जोखिमपूर्ण भूमिगत जीवनको प्रसंग पनि सम्झिए । ‘एक क्विन्टलको बम माथिबाट खस्दा पनि क्षति नहोस् भनेर अण्डरग्राउण्ड हल बनाएका थियौँ,‘उनले बताए ।

पुस्तक ‘युद्ध पत्रकारिता’ लाई द्वन्द्वकालीन इतिहास र पत्रकारिताको चुनौतीको ‘ऐना’ भन्दै अध्यक्ष दाहालले सत्य र समाजप्रतिको जिम्मेवारी बोकेर लेखिएको कृतिले आगामी पुस्तालाई पनि प्रेरणा दिने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?