जेनजी आन्दोलन : आपराधिक कार्यमा संलग्न ५९५ पक्राउ, २८३ विरुद्ध मुद्दा दर्ता

लोकपथ
504
Shares

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा लुटिएका हातहतियार फिर्ता ल्याउन देशभर ‘सेक्युरिटी अपरेशन’ सञ्चालन गरिएको बताएका छन् । 

बिहीबार राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा गृहमन्त्री अयार्नलले यस्तो बताएका हुन् ।  उनकाअनुसार हालसम्म आन्दोलनको क्रममा लुटिएका हतियारमध्ये ७२३ थान हतियार बरामद गरिएको छ । 

उनले जेनजी आन्दोलनका क्रममा जेल ब्रेक गरी भागेका १४ हजार ५ सय ५४ कैदीबन्दीमध्ये ९ हजार ६ सय ९७ जनालाई फिर्ता ल्याइएको पनि बताएका छन् ।  

बाँकी ४ हजार ८सय ५७ फरार कैदीको खोजीका लागि विशेष अपरेशन प्रक्रिया जारी रहेको पनि बताएका छन् ।  

उनले जेनजी आन्दोलनको क्रममा आपराधिक घटनामा संलग्न ५ सय ९५ जनालाई पक्राउ गरिएकोमा २ सय ८३ जनाविरुद्ध मुद्दा दर्ता भइसकेको पनि बताए ।  

उनले आगामी आम निर्वाचनमा सुरक्षाका लागि सेना परिचालनसम्बन्धी प्रस्ताव राष्ट्रिय सुरक्षा परिषद्बाट पारित भइसकेको जानकारी समेत  गराए । उनले सातै प्रदेशमा निर्वाचनलक्षित प्रदेशस्तरीय सुरक्षा गोष्ठी सञ्चालन हुँदै आएको पनि बताए ।  

सुरक्षा निकायहरूको सुदृढीकरणका लागि आवश्यक उपकरण र सवारी साधन किन्न स्रोत सुनिश्चित गरिएको बताउँदै उनले नेपाल प्रहरीका लागि २ सय ६२ सवारी, सशस्त्र प्रहरीका लागि १ सय ९९ र राष्ट्रिय अनुसन्धान विभागका लागि ६ सवारी खरिद प्रक्रिया अगाडि बढाइएको स्पष्ट पारे । 

उनले भने, ‘हराएका हातहतियार तथा खरखजाना फिर्ता ल्याउन सबै सुरक्षा निकायहरूले सूचना आदानप्रदान गरी कार्य योजना बनाइ संयुक्त रूपमा प्रभावकारी ‘सेक्युरिटी अपरेशन’ सञ्चालन गर्न जिल्ला सुरक्षा समितिलाई निर्देशन दिई कार्यान्वयन गरिएको छ । हालसम्म ७ सय २३ थान हतियार फिर्ता ल्याइएको छ । जेनजी आन्दोलनको क्रममा कारागार तथा बन्दी गृहबाट भागेका तथा फरार भएका १४ हजार ५ सय ५४ कैदीबन्दीमध्ये ९ हजार ६ सय ९७ जनालाई फिर्ता ल्याइसकिएको छ । बाँकी ४ हजार ८ सय ५७ जनालाई फिर्ता ल्याउन विशेष अपरेशन सञ्चालन गरिएको छ । भाद्र २३ र २४ गतेको घट्नासँग सम्बन्धित अपराधमा संलग्नमध्ये कुल ५ सय ९५ जनालाई पक्राउ गरिएको तथा २ सय ८३ जनालाई विभिन्न कसुरमा  मुद्दा दर्ता गरिएको अवस्था छ । अगामी निर्वाचन प्रतिनिधि सभा सदस्य निर्वाचनमा सेना परिचालनको लागि सेना परिचालन गर्न लेखि पठाइ राष्ट्र सुरक्षा परिषद्बाट निर्णय समेत भइसकेको अवस्था छ । जिल्लागत र प्रदेशगत सुरक्षा चुनौती तथा अवस्थाको जानकारीका साथै सुरक्षा तयारीका लागि सातै प्रदेशमा निर्वाचनलक्षित प्रदेशस्तरीय सुरक्षा गोष्ठी गर्ने, केन्द्रीय सुरक्षा समितिको निर्णयबमोजिम लुम्बिनी प्रदेशमा प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न समेत भइसकेको छ । बाँकी प्रदेशहरूमा पनि पुसभित्र सम्पन्न गर्ने गरी तयारी भइरहेको अवस्था छ । निर्वाचनलाई ध्यानमा राख्दै सुरक्षा निकायको सुदृढीकरणको लागि नेपाल प्रहरीतर्फ नियमित बजेटबाट १ सय ५६ वटा र थप बजेटबाट १ सय ६ वटा गरी कुल २ सय ६२ थान सवारी तथा सशस्त्र प्रहरीतर्फ नियमित बजेटबाट ५९ र थप बजेटबाट ५० वटा गरी कुल १ सय ९ सवारी र राष्ट्रिय अनुसन्धान विभागतर्फ थप ६ वटा सवारी खरिदको लाग स्रोत सुनिश्चित गरी खरिद प्रक्रिया अगाडि बढाइएको छ ।’

उनले प्रतिनिधि सभा सदस्य निर्वाचन घोषित मितिमा सम्पन्न गर्न सरकार कटिबद्ध रहेको पनि बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?