सामाजिक सुरक्षाबिना सामाजिक न्याय सम्भव छैन : प्रधानमन्त्री कार्की

लोकपथ
91
Shares

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले परिपूर्ण सामाजिक सुरक्षाबिना सामाजिक न्याय सुनिश्चित गर्न नसकिने बताएकी छन् । 

आठौँ सामाजिक सुरक्षा दिवसका अवसरमा सिंहदरबारमा आयोजित कार्यक्रममा बोल्दै उनले योगदानमा आधारित सामाजिक सुरक्षाको प्रभावकारी कार्यान्वयन नै समतामूलक र दिगो सामाजिक न्यायको आधार हुने उल्लेख गरिन् ।

प्रधानमन्त्री कार्कीले सामाजिक सुरक्षा प्रणालीलाई अन्तरपुस्ता लागत सन्तुलनसहित समतामूलक बनाउन योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ महत्त्वपूर्ण आधार भएको बताइन् ।

उनले उक्त ऐनको सफल कार्यान्वयनले सबै नागरिकलाई स्वदेशमै श्रम गरेर बस्ने वातावरण तयार हुनुका साथै समग्र उत्पादकत्व वृद्धि हुने विश्वास व्यक्त गरिन् ।

उनका अनुसार सामाजिक सुरक्षाको प्रभावकारी कार्यान्वयनले हुनेले नहुनेलाई, धनीले गरिबलाई, निरोगीले रोगीलाई सहयोग गर्ने सामाजिक ऐक्यबद्धतामा आधारित उत्पादनमूलक समाज निर्माणमा टेवा पुर्‍याउँछ ।

कार्यक्रममा उनले औपचारिक क्षेत्रको अनिवार्य आबद्धता, अनौपचारिक क्षेत्रका श्रमिकका लागि सह–योगदानमा संघीय सरकारको भूमिका, करार कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्धताको अनुभूति गराउने, तथा कोषको रकम न्यायोचित प्रतिफलसहित आन्तरिक पुँजीका रूपमा प्रयोग गर्ने विषयमा सरकार गम्भीर रूपमा छलफल गरिरहेको जानकारी दिइन् ।

प्रधानमन्त्री कार्कीले निजी क्षेत्रलाई आफ्ना श्रमिक–कर्मचारीको सामाजिक सुरक्षालाई ‘बोझ’ नभई ‘निवेश’का रूपमा लिन आग्रह गरिन् । बढ्दै गएको सामाजिक सुरक्षा कोषलाई राष्ट्र निर्माणमा प्रभावकारी रूपमा उपयोग गर्न आवश्यक गृहकार्य तत्काल सुरु गर्नुपर्ने पनि उनले बताइन् ।

उनले प्रत्येक श्रमिक र रोजगारदाताले जम्मा गरेको रकम उत्पादनमूलक र परिणाममुखी क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिँदै सामाजिक सुरक्षा प्रणालीलाई एकीकृत, दिगो र सक्षम बनाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पारिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?