प्रतिनिधि सभा पुनःस्थापनाको माग गर्दै एमालेद्वारा सर्वोच्चमा रिट दायर

लोकपथ
147
Shares

काठमाडौं । नेकपा (एमाले)ले प्रतिनिधि सभा पुनःस्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ। सोमबार तत्कालीन प्रतिनिधि सभा एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौला र सचेतक सुनिता बरालले असंवैधानिक ढंगले विघटन गरिएको प्रतिनिधि सभा पुनःस्थापनाको माग गर्दै रिट दायर गरेका हुन् ।

रिटमा प्रधानमन्त्री सुशीला कार्कीको असंवैधानिक ढंगले नियुक्ति भएको उल्लेख गर्दै सो नियुक्ति बदर गरी संसदमार्फत सरकार निर्माण प्रक्रियालाई अघि बढाउन पनि माग गरिएको छ। बर्तौला अनुसार, ‘पार्टीका विघटित प्रतिनिधि सभाका सदस्यहरूको तर्फबाट संसद् पुनःस्थापनाको मागसहित रिट दायर गरेका छौँ । विशेष गरी हामीले यस रिटमा अन्तरिम आदेशको माग भने गरेका छैनौं, तर विषयवस्त अत्यन्त संवेदनशील भएकाले निरन्तर सुनुवाइ सुरु गरियोस् भन्नेमा जोड दिएका छौँ ।’

उनले थपे, ‘यो सरकार असंवैधानिक रूपमा गठन भएको छ। संसद् सदस्य नभएको व्यक्ति प्रधानमन्त्री हुन सक्दैन। संविधानले पूर्वन्यायाधीश वा प्रधानन्यायाधीशलाई कुनै सरकारी लाभको पदमा स्वीकार गर्दैन। त्यसैले यो निर्णय बदर गर्नुपर्छ र संसदमार्फतै सरकार निर्माण प्रक्रिया अघि बढाउनुपर्छ ।’

विघटित प्रतिनिधि सभा एमाले संसदीय दलको बैठकले यसअघि नै प्रतिनिधि सभा पुनःस्थापनाका लागि रिट दायर गर्ने जिम्मेवारी तत्कालीन प्रमुख सचेतक बर्तौला र सचेतक बराललाई दिएको थियो ।

सोहीअनुसार आज रिट दायर गरिएको हो। साथै एमालेले प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्न निवेदन पनि पेस गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?