काठमाडौं । नेपाल प्रीमीयर लीग (एनपीएल) को दोस्रो संस्करणको क्रिकेट प्रतियोगितामा अनलाइन बेटिङ गराउने एक समूहलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले आइतबार मात्रै भारत आन्ध्र प्रदेशका ८ जनालाई बेटिङ गराउँदै गरेको अवस्थामा पक्राउ गरेको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार बल्खु क्षेत्रमा अपरेसन चलाएर ८ जना भारतीयलाई नियन्त्रणमा लिएको हो । नेपाल क्रिकेट संघद्वारा सञ्चालन भइरहेको नेपाल प्रीमीयर लीग (एनपीएल)को खेलहरूमा अनलाइन मार्फत बेटिङ गराएको आरोपमा प्रहरीले भारतीयको गिरोहलाई नै पक्राउ गरेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्तासमेत रहेका एसपी काजीकुमार आचार्यका अनुसार पक्राउ परेका सबै जना बेटाकुलर डट लाइभ नामक बेटिङ एप सञ्चालन गर्ने गिरोहका सदस्यहरू हुन् । उनीहरूले पैसाको हारजित हुने गरी बेटिङ गराएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका सबै भारत आन्ध्र प्रदेशका नागरिकहरू हुन्, जो यतिबेला सामाखुसीमा बसोबास गरिरहेकाहरू छन् । पक्राउ पर्नेहरूमा ३१ वर्षीय राजा यदुला, ३५ वर्षीय महेश बाबु, ३० वर्षीय पण्डित श्रीनिवासुलु, २० वर्षीय सेख सोयब, ३० वर्षीय नभिन मड्डेला, ३२ वर्षीय महमद रफी सेख, १९ वर्षीय साई कुमार तम्मिसेट्टी र २८ वर्षीय सेख चन्द बसल रहेका छन् ।
कार्यालयले बेटिङमा प्रयोग भएमा १५ थान मोबाइलसहित उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौंको जिम्मा लगाएको छ । प्रहरीले मुलुकी अपराध सहिंता, २०७४ को दफा १२५ को उपदफा ४ बमोजिमको कसुरमा उनीहरूलाई नियन्त्रणमा लिएको हो । यो दफामा सट्टेबाजी गर्न वा गराउन नहुने कानुनी व्यवस्था छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया