मोटरसाइकल र ट्याक्टर ठोक्किँदा एक जनाको मृत्यु

लोकपथ
182
Shares

झापा । मेचीनगर नगरपालिका–१५ हेल्दुवारीस्थित भित्री सडकखण्डमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही वडाका ३८ वर्षीय विनोद राउत रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिए । 

शनिबार साँझ भद्रपुरबाट इँटाभट्टातर्फ गइरहेको प्र१–०१–०१३प ३३३६ नम्बरको मोटरसाइकलले सडकको साइडमा रोकेर राखेको प्र१–०१–००१त ९९७७ नम्बरको ट्याक्टरलाई ठक्कर दिई दुर्घटना हुँदा मोटरसाइकल चालक राउत र पछाडि बसेका २१ वर्षीय निश्चल भुजेल घाइते भएका थिए ।

टाउको र शरीरको विभिन्न भागमा चोट लागी गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि बिर्तामोडस्थित बीएन्डसी अस्पताल लागिएको थियो । उपचारकै क्रममा राउतको मृत्यु भएको उनले बताए । ट्याक्टर र ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।

त्यसैगरी, गौरीगञ्ज गाउँपालिका–१ कुञ्जीबारी बजारमा बीउबिजनको व्यापार गर्न आएका शिवसताक्षी नगरपालिका–५ का ७२ वर्षीय सम्पतलाल राजवंशीको शनिबार मृत्यु भएको छ ।

शनिबार दिउँसो अचानक चक्कर लागि बेहोस भएपछि उनलाई उपचारका लागि दमक अस्पताल दमक पठाइएको थियो । 

उपचारका क्रममा साँझ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खड्काले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?