झापा । झापा र मोरङका जङ्गली क्षेत्रमा २५–३० वटा हात्तीको बथान लामो समयदेखि बसिरहेको छ, जसले मानवमा हात्ती द्वन्द्वको जोखिम बढाएको छ ।
वन्यजन्तु संरक्षणमा संलग्नहरूका अनुसार, यी दुई जिल्लामा पहिल्यै करिब ३० रैथाने हात्ती बस्दै आएका थिए । अब नयाँ हात्ती थपिँदा द्वन्द्वको सम्भावना बढेको छ ।
गत साता मोरङको सुन्दरहरैचा क्षेत्रको जङ्गलबाट पूर्वतर्फ लागेका हात्तीको बथान पूर्वी गौडा बाहुनडाँगी हुँदै भारततिर जाने सम्भावना देखिएको थियो । ती हात्ती दुई वर्षअघि बाहुनडाँगी गौडाबाट नेपाल भित्रिएका थिए ।
डिभिजन वन कार्यालय झापाका प्रमुख भरतबाबु श्रेष्ठका अनुसार, मोरङबाट झापाको रतुवामाई वृक्षारोपण क्षेत्रसम्म आएका हात्तीको बथान छिन्नभिन्न भएर केही झुण्ड मोरङतर्फ फर्किसकेको छ भने अरू दुई झुण्ड झापाको जंगलतर्फ बरालिरहेका छन् ।
सीमित जंगलमा लगातार हात्तीको सङ्ख्या बढ्दा मानव–हात्ती द्वन्द्व बढ्ने जोखिम बढिरहेको छ । जंगलमा त्रासरहित बासस्थान र पर्याप्त आहार नहुँदा भोकाएका हात्ती गाउँबस्तीमा प्रवेश गरिरहेका छन् ।
चरा तथा वन्यजन्तु संरक्षण समाजका अध्यक्ष देवेन्द्र खरेलले भने, ‘हात्ती घुमन्ते प्राणी हुन्, तर सुरक्षित बासस्थान र आहार नपाउँदा छिटो सर्ने गर्दैनन् । साना बच्चा र किशोर हात्ती माउ हात्तीको नेतृत्वमा ढिलो बसाई सार्छन् ।’ उनले भारतको आसामदेखि पश्चिम बंगाल हुँदै नेपाल भित्रिने बथान पनि पुस्तौँदेखि यात्रा गर्दै आएको जानकारी दिए ।
हाल झापा र मोरङमा धान, मकै र केरा पर्याप्त भएकोले हात्तीहरू भारततिर नजाने सम्भावना रहेको खरेलले बताए। तर दमक, हम्सेदुम्से र शिवसताक्षी क्षेत्रमा बथानका हात्ती स्थानीयसँग देखिन थालेका छन् । जंगलमा दाउरा लिन वा गाईबस्तु चराउन जाने मानिसहरू उच्च जोखिममा छन् ।
रैथाने हात्तीको तुलनामा बथानका हात्ती कम आक्रामक हुन्छन् । खरेलले भने, ‘मानिसले खेदाउँदा बथानका हात्ती आफ्ना बच्चालाई जोगाउँदै भाग्छन्, तत्काल आक्रमण गर्दैनन् । तर, हात्तीलाई जिस्काउने, आगो झोस्ने वा बिथोल्दा मानवीय क्षति हुन सक्छ ।’
जंगलमा आहारको कमी र हात्तीको सङ्ख्या बढ्दा मानव–हात्ती द्वन्द्व बढ्ने सम्भावना रहेको हुनाले स्थानीयबासी र सरोकारवाला निकायहरूले सावधानी अपनाउन आवश्यक छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया