सिमरा घटना : प्रशासन र जेनजीबिच छलफल जारी

लोकपथ
98
Shares

काठमाडौं । बाराको सिमरा क्षेत्रमा उत्पन्न तनाव कम गर्न स्थानीय प्रशासन र जेनजी समूहका अगुवाबिच अहिले छलफल जारी छ । 

पथलैयास्थित सशस्त्र प्रहरी बल नेपाल प्राविधिक तालिम शिक्षालयमा दुवै पक्षका प्रतिनिधिहरू बसेर समाधान खोजिरहेको बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए।

बुधबारदेखि सुरु भएको विवादलाई साम्य पार्न बोलाइएको छलफलमा जेनजीका अगुवा सुदन गुरुङ पनि सहभागी छन् । छलफलका क्रममा गुरुङले जेनजी युवामाथि कुटपिट गर्ने एमाले कार्यकर्तालाई नियन्त्रणमा लिन ढिलाइ किन भयो भनेर प्रशासनसँग प्रश्न गरेका छन् ।

जेनजी समूहको उजुरीका आधारमा प्रशासनले अहिले तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। नियन्त्रणमा परेकामध्ये दुई जना जितपुर–सिमरा उपमहानगरपालिकाका एमालेबाट निर्वाचित वडाध्यक्ष र एक स्थानीय एमाले युवा नेता रहेका छन् ।

बुधबार केही एमाले नेता–कार्यकर्ताले जेनजी युवामाथि कुटपिट गरेको आरोपपछि सिमरामा वातावरण तनावग्रस्त बनेको थियो । कर्फ्यु आदेश जारी हुँदाहुँदै पनि जेनजी युवाले बुधबार र बिहीबार सिमरा चोकमा टायर बालेर सडकमै विरोध प्रदर्शन गरेका थिए । प्रशासनले शान्ति–सुरक्षा बहाल गर्न वार्तालाई अघि बढाएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?