काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनलाई सफल बनाउन सबै पक्षलाई आह्वान गरेका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले निर्वाचनलाई सफल बनाउन आह्वान गरेका हुन् ।
राष्ट्रपति पौडेलले आगामी फागुन २१ गतेका लागि घोषणा गरिएको प्रतिनिधि सभाको निर्वाचन देश, जनता र लोकतन्त्रका लागि अपरिहार्य भएकाले यसलाई सफल बनाउन सबै पक्ष लाग्नुपर्ने स्पष्ट पारे ।
राष्ट्रपति पौडेलले देश विषम परिस्थितिलाई गुज्रिरहेको उल्लेख गर्दै त्यसबाट संविधान, लोकतन्त्र र मुलुकलाई जोगाउनका लागि नै निर्वाचनको मिति घोषणा गरिएको पनि बताए । उनले सो निर्वाचन परिणामले मुलुकको सुशासन, विकास र समृद्धिको यात्रालाई सुदृढ तुल्याउँदै मुलुकलाई नयाँ दिशा दिने विश्वास समेत व्यक्त गरे ।
‘देश आज विषय परिस्थितिबाट गुज्रिएर यो अवस्थामा आएको छ । त्यो विषय र कठिन परिस्थितिबाट संविधान, लोकतन्त्र र मुलुकलाई जोगाउँदै फागुन २१ गतेका लागि प्रतिनिधि सभाको निर्वाचनको मिति तय भएको छ,’ राष्ट्रपति पौडेलले भने, ‘यो निर्वाचन परिणमले सुशासन, विकास र समद्धिको यात्रालाई सुदृढ तुल्याउँदै नयाँ दिशा दिनेछ भन्ने मलाई विश्वास छ । यो निर्वाचन देश, जनता र लोकतन्त्रका लागि अपरिहार्य भएकाले यसलाई सफल पार्न म सम्पूर्ण नेपाली दाजुभाई, दिदीबहिनीलाई अपिल पनि गर्दछु ।’
त्यस अवसरमा राष्ट्रपति पौडेलले समाज तथा राष्ट्रको आवश्यकताअनुसार व्यवहारिक ज्ञान, नैतिक शिक्षा र क्षमता अभिवृद्धि गर्ने सीपमूलक शिक्षालाई अब्बल बनाउनेतर्फ शिक्षण ध्यान दिनुपर्ने आवश्यकता समेत औँल्याए । उनले सो क्याम्पसलाई महिला विश्वविद्यालय बनाउन गरिएको प्रयासप्रति पनि खुशी व्यक्त गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया