नीतु आत्महत्या प्रकरणमा गायक बाबुल गिरी ३ लाख रुपैयाँ धरौटीमा रिहा 

प्रेमिकाको चाहनालाई आफूले समयमै गम्भीरताका साथ नलिएको भन्दै पश्चात्ताप

लोकपथ
854
Shares

काठमाडौं । गायिका नीतु पौडेलले आत्मदाह गरेपछि आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ परेका गायक तथा संगीतकार बाबुल गिरी (धनबहादुर) ३ लाख रुपैयाँ धरौटीमा छुटेका छन् । उनी काठमाडौं जिल्ला अदालतको आदेशले धरौटीमा रिहा भएका हुन् ।

पौडेलको निधनपछि गायक गिरी आफैँ जिल्ला प्रहरी परिसरमा उपस्थित भएका थिए ।

गिरीले नीतुको आत्महत्यामा आफू जिम्मेवार रहेको स्वीकारोक्ति बयान दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईले बताए । 

प्रेमिकाको चाहनालाई आफूले समयमै गम्भीरताका साथ नलिनु नै उनको आत्मदाहको कारण बनेको भन्दै अदालती बयानमा पनि बाबुलले पश्चात्ताप गरेका थिए । प्रतिवादीले गल्ती स्वीकार गरेको अवस्थामा अदालतले तत्कालका लागि धरौटी राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको बताइएको छ ।

बाबुल र नीतु केही समयदेखि प्रेममा रहेका थिए । तर, बाबुलले विवाह गर्न अस्वीकार गरेको भन्दै नीतुले अनामनगरस्थित बाबुलकै स्टुडिओमा कात्तिक १ गते पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका थिए । सो घटनापछि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएका उनको कात्तिक ७ गते उपचारकै क्रममा मृत्यु भएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?