काठमाडौं । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि सेना परिचालनको लागि सरकारसमक्ष सिफारिस गर्ने निर्णय भएको छ ।
बिहीबार सिंहदरबारमा बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठकले सो निर्णय गरेको राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयले जनाएको छ ।
‘मिति २०८२ साल फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्यको निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नेपालको संविधानको धारा २६६ को उपधारा (१) बमोजिम नेपाली सेना परिचालन गर्न नेपाल सरकार, मन्त्रिपरिषद् समक्ष सिफारिस गर्ने समेत निर्णय भयो,’ सचिवालयले भनेको छ ।
त्यस्तै बैठकले राष्ट्रिय सुरक्षा परिषद्को आठौँ प्रतिवेदनको मस्यौदामाथि समेत छलफल भइ उक्त मस्यौदालाई आवश्यक संशोधनसहित स्वीकृत गरी नेपालको संविधानको भाग २८ को धारा २६६ को उपधारा (३) बमोजिम राष्ट्रपति समक्ष पेस गर्ने निर्णय समेत भएको छ ।
बिहीबार अपरान्ह प्रधानमन्त्री एवं राष्ट्रिय सुरक्षा परिषद्को अध्यक्ष सुशीला कार्कीको अध्यक्षतामा बसेको बैठकमा अर्थमन्त्री, गृहमन्त्री, मुख्यसचिव, प्रधानसेनापति रक्षासचिवको समेत उपस्थिति रहेको थियो ।
उक्त बैठकमा राष्ट्रिय सुरक्षामा आउन सक्ने विविध चुनौतीहरु तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा देखापरेका पछिल्ला घटनाक्रमहरुले राष्ट्रिय सुरक्षामा पार्न सक्ने प्रभाव तथा चुनौतीहरु र आईपर्ने भावी रणनीतिहरुको सम्बन्धमा समेत छलफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया