भारतले नेपाललाई दियो ७० मिटर लामो मोड्युलर पुल

लोकपथ
903
Shares

काठमाडौं । विपद्पछिको कनेक्टिभिटीलाई सुदृढ गर्दै भारतद्वारा नेपालको हेटौंडामा ७०–मिटर लामो मोड्युलर पुल तथा पुल जडान गर्न प्रयोग हुने विशेष उपकरणहरु हस्तान्तरण गरेको छ ।

नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले बिहीबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङलाई ७०–मिटर लामो मोड्युलर पुलको पूर्ण सेट र पुल जडान गर्न प्रयोग हुने विशेष उपकरणहरु हस्तान्तरण गरेका हुन् ।

पूर्वी नेपाललाई प्रभावित पारेको सन् २०२५ अक्टोबरमा आएको विनाशकारी वर्षापछि नेपाल सरकारले अनुरोध गरे अनुसार भारत सरकार कुल दशवटा यस्ता ७०–मिटर लामो र अग्ला स्प्यान पुलहरु प्रदान गर्न प्रतिबद्धता जनाएको थियो ।

७३ करोड रुपैयाँ भन्दा बढी मूल्यका दशवटा बेली ब्रिजहरु भारतले अनुदानको आधारमा प्रदान गरिरहेको जनाएको छ ।

आज हस्तान्तरण गरिएको मोड्युलर पुललाई तुरुन्तै रामेछापमा जडानका लागि पठाइनेछ जहाँ सन् २०२५ अक्टोबरमा भारी वर्षा पछि सडक कनेक्टिभिटी प्रभावित भएको थियो ।

गत वर्ष सन् २०२४ सेप्टेम्बरमा आएको बाढी र पहिरोपछि भारत सरकारले नेरु। ४१ करोड बराबरका १० वटा प्री–फ्याब्रिकेटेड स्टील ब्रिजहरु उपलब्ध गराएको थियो जस मध्ये ४ वटा जडान भइसकेका छन् ।

कार्यक्रममा भारतीय राजदूत श्रीवास्तवले मोड्युलर पुल र पुल जडान गर्न प्रयोग हुने विशेष उपकरणहरुको आपूर्ति भारत–नेपाल सम्बन्धलाई परिभाषित गर्ने मित्रताको दिगो सम्बन्धको शक्तिशाली प्रमाण भएको बताए ।

सो क्रममा मन्त्री घिसिङले भारतले विभिन्न समयमा नेपाललाई सहयोग पुर्‍याउँदै आइरहेको बताउँदै धन्यवाद ज्ञापन गरे । उनले छिटो जडान गर्न सकिने यस्ता पुलहरु तथा पुल जडान गर्न प्रयोग हुने उपकरणहरुको उपलब्धता आपतकालीन पुनर्निर्माणलाई तीव्र गतिमा अघि बढाउन अत्यन्त महत्वपूर्ण हुने उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?