रवि र छविको सुनुवाइ स्थगित, रविका कानुन व्यवसायीले नै दिएका थिए सुनुवाइ स्थगित गरिदिन निवेदन

लोकपथ
1.8k
Shares

काठमाडौं । रास्वपा सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीले दिएको रिट निवेदनमाथिको मुद्दाको आजको सुनुवाइ स्थगित भएको छ । बिगोबमोजिमको रकम बुझाइ थुनाबाहिर बसेर मुद्दा लड्न पाउनुपर्ने माग गर्दै रविले दिएको रिट निवेदनको सुनुवाइ स्थगित भएको हो । 

बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका लामिछाने र जोशीको मुद्दामा आजका लागि पेसी तोकिएको थियो । तर, आज रविको मुद्दाको पेसी पाटन उच्च अदालतमा पनि परेकाले रविका कानुन व्यवसायीका तर्फबाट बुटवल इजलासको सुनुवाइ स्थगित गरिदिन निवेदन परेपछि स्थगित भएको हो । 

सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा भएको अपचलनबापत आफ्नो भागबराबर बिगो दाखिला गरिसक्दा पनि जिल्ला अदालत रुपन्देहीले रिहा नगरेपछि भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गरेका थिए ।

सुप्रिम सहकारी ठगीमा रविसहितका प्रतिवादीलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरी अभियोग पत्र दायर गरिएको थियो । लामिछानेले त्यसको चार भागमध्ये आफ्नो हिस्साको एक भाग बराबर २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बैंक जमानतका रूपमा पेस गरेका थिए ।

लामिछाने जस्तै जोशीले पनि त्यति नै रकमबापत जमानत पेस गरेका थिए । तर, दुवै प्रतिवादीको व्यक्तिगत बिगो कति पर्ने भन्ने यकिन नभएकाले रिहा गर्न नपाइने निर्णय दुवैका हकमा समान रूपमा जारी भएको थियो ।

बिगोबमोजिमको रकम बुझाई थुनाबाहिर बसेर मुद्दा लड्न पाउने माग गर्दै लामिछानेले निवेदन दिएकामा उच्च अदालतले रविसँगै जोशीको फाइल पनि पेस गर्न आदेश दिएको थियो ।

यसअघि कात्तिक २७ गते भएको सुनुवाइमा न्यायाधीशहरू वासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलासले सर्वोच्च अदालतमा रहेको मुल अभियोग मिसिल मगाउने आदेश दिएको थियो । मुल मुद्दाको सक्कल मिसिल प्राप्त भएपछि आज बिहीबारका लागि पेसी तोकिएको थियो ।

यसअघि कात्तिक २० गतेको सुनुवाइमा पनि न्यायाधीशद्वय आचार्य र अर्यालको इजलासले सुरु मिसिल मगाउने आदेश दिएको थियो । 

हाल लामिछाने ललितपुरको नख्खु कारागार र जोशी भैरहवा कारागारमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?