रवि र छवि दुवैको मुद्दा सुनुवाइका लागि पेसी तोकियो

लोकपथ
1k
Shares

बुटवल । सहकारी ठगी तथा सङ्गठित अपराध आरोपमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पूर्व डिआइजी तथा तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा आज उच्च अदालत बुटवलमा पेसी चढाइएको छ ।

गत हप्ता उच्च अदालत तुलसीपुर–बुटवल इजलासका न्यायाधीश वासुदेव आचार्य र ओमप्रकाश अर्यालको संयुक्त इजलासले मुद्दाको मूल मिसिल झिकाउन आदेश दिएको थियो । अदालतमा मिसिल आएपछि आजको पेसी तोकिएको उच्च अदालत बुटवलका उपरजिष्टार यज्ञमूर्ति ज्ञवालीले जानकारी दिए । पेसीको इजलास गोलाप्रथा मार्फत निश्चित हुनेछ।

बुटवलस्थित सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दामा लामिछाने पुर्पक्षका लागि थुनामा छन् । सहकारीमा भएको अपचलन प्रकरणमा आफ्नो हिस्साको बिगो रकम दाखिला गरे पनि जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते उनलाई रिहा गर्ने माग अस्वीकार गरेको थियो ।

जिल्ला अदालतको फैसलाविरुद्ध लामिछानेले भदौ ९ गते उच्च अदालतमा पुनरावेदन दर्ता गरेका थिए । अदालतले लामिछाने र जोशीको मुद्दा एकै साथ हेर्न आदेश दिँदै दुवै मुद्दालाई संयुक्त रूपमा अघि बढाइरहेको छ ।

आज पेसी तोकिएसँगै दुवै पक्षका कानुन व्यवसायीहरू बहसका लागि अदालतमा उपस्थित हुन तयारी अवस्थामा छन् । लामिछाने नख्खु कारागारमा रहेका छन् भने जोशी भैरहवास्थित कारागारमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?