काठमाडौं । ‘हामी नेपाल’ नामक संस्थाका संयोजक सुदन गुरूङले गृहमन्त्री ओमप्रकाश अर्यालविरुद्ध सामाजिक सञ्जालमार्फत आक्रामक अभियान सुरु गरेका छन् । उनले फेसबुकमार्फत राजीनामासहित राजनीतिक जवाफदेहिताको माग अघि सारेका हुन् ।
गुरूङले फेसबुकमा साझा गरेको पोस्टरमा ‘मौनतालाई कमजोरी नठान्नू, जनआन्दोलनको ज्वालामुखी उठ्दैछ’ भन्ने नाराका साथ गृहमन्त्रीविरुद्ध तीन वटा ह्यासट्याग ट्याग गरिएको छ । उनले गृहमन्त्री अर्यालको नेतृत्वमा बारामा बुधबार जेनजी कार्यकर्तामाथि कुटपिट भएको आरोप लगाउँदै ती घटनाप्रति उदासीनता देखाइएको दाबी गरेका छन् ।
गुरूङले लेखेका छन्, ‘गृहमन्त्रीले आफू आन्दोलनको म्यान्डेटबाट र जेनजी भाइबहिनीहरूको बलिदानबाट पदमा पुगेका कुरा बिर्सिएको देखेर लाज पनि लजाइसक्यो ।’
उनले यदि गृहमन्त्रीले भ्रष्ट र हिंसात्मक गतिविधिमा संलग्न व्यक्तिहरूलाई कारबाही गर्न नसक्ने हो भने र आन्दोलनकारीमाथि भएको कुटपिटप्रति मौन बस्ने हो भने ‘मलाई पनि पक्राउ गर’ राष्ट्रिय अभियान सुरु गर्ने चेतावनी दिएका छन् ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा भएको दमनका दोषीहरूलाई पक्राउ गरी कारबाही गर्नुपर्ने माग गुरूङले पुनः दोहोर्याएका छन् । तर सरकारले बेवास्ता गरेको आरोप लगाउँदै उनले निरन्तर सामाजिक सञ्जालमार्फत गृहमन्त्रीविरुद्ध कडा प्रतिक्रिया दिँदै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया