नेपाल लाइफको बोनस दर घट्दो क्रममा, दिन्छु भनेको रिटर्न नआउने पक्का

लोकपथ
322
Shares

काठमाडौं । तपाईँलाई बीमा पोलिसी बेच्ने एजेन्टले बीमा गराउँदा कति प्रतिशत बोनस छ र कति रकम आउँछ भनेका थिए ? पक्कै पनि पैसा आउँदा डबल अर्थात् दुई गुणा हुन्छ भनेका थिए होला, होइन ?

हुन पनि हो, अधिकांश जीवन बीमा कम्पनीहरूले आफ्नो पोलिसी बेच्दा भन्ने भनेको कुरा यो भविष्यको लगानी वा बचत हो र पैसा डबल हुन्छ भन्ने नै हो ।

तर के साँच्चै पैसा डबल नै हुन्छ ? वा जति बेला पोलिसी खरिद गरिएको थियो, त्यही बेलाको बोनस दर अनुसार नै भुक्तानी हुन्छ कि बोनस दरमा परिवर्तन भएमा पछि भुक्तानी हुने रकममा पनि परिवर्तन आउँछ ?

यो प्रश्नको जवाफ खोज्न पहिले जीवन बीमा कम्पनीहरूले कत्तिको नाफा कमाइरहेका छन् भनेर हेर्नुपर्ने हुन्छ ।

पछिल्लो समय जीवन बीमा कम्पनीहरूको सङ्ख्या वृद्धि हुँदै जाँदा नयाँ नयाँ पोलिसी समेत आउने गरेको छ । त्यसबाहेक बीमा कम्पनीहरूको पुँजी अनुसार नाफामा बढोत्तरी हुन नसक्दा बीमा कम्पनीहरूको बोनसमा समेत गिरावट आउन थालेको छ ।

नेपाल लाइफको बोनस दर घट्दो क्रममा
नेपाल लाइफ इन्सुरेन्स कम्पनीले करिब १० वर्ष अगाडिसम्म आफ्नो १५ वर्षको पोलिसी बेच्दा रकम डबल हुन्छ भन्दै बेच्ने गरेको थियो । किनभने त्यति बेला कम्पनीको सावधिक जीवन बीमाको बोनस दर २० वर्षसम्मका लागि प्रतिहजारमा ६५ प्रतिशत, २१ देखि २५ वर्षसम्मका लागि ७२ प्रतिशत र २६ वर्षभन्दा माथि भएमा ८२ प्रतिशत बोनस दिने गरी अडिट रिपोर्ट तयार थियो ।

किनभने त्यति बेला कम्पनीको व्यापार र नाफा उल्लेख्य थियो भने नयाँ जीवन बीमा कम्पनीहरू पनि त्यति खुलेका थिएनन् ।
तर २०७५ सालदेखि कम्पनीको व्यापार र नाफा खस्कन थालेपछि उसले दिने बोनस दरमा पनि कमी आउन थालेको छ । कम्पनीले बेच्ने पोलिसीहरुमा यसअघि ६५ प्रतिशत रहेको बोनस अहिले घटेर प्रतिहजारमा ५५ प्रतिशतमा झरेको छ ।

नेपाल लाइफ इन्सुरेन्सले आर्थिक वर्ष २०८०/०८१ का लागि जारी गरेको सूचना अनुसार १५ वर्षसम्मका अवधिका लागि गरिने बीमामा ५५ देखि ६० प्रतिशतसम्मको बोनस दिइने बताएको छ । जुन आर्थिक वर्ष २०७४।०७५ सम्म ६५ प्रतिशत थियो ।
नेपाल लाइफ इन्सुरेन्स कम्पनीको सुरुवाती समय अर्थात् २०५७/०५८ सालमा सावधिक जीवन बीमाको बोनस दर ४३ प्रतिशत थियो । त्यसपछि ५० प्रतिशत, ५६ प्रतिशत, ६० प्रतिशत, ६२ प्रतिशत हुँदै ६५ प्रतिशतसम्म बोनस दर पुराएको थियो ।

अधिकांश बीमा पोलिसी १५ वर्षका लागि विक्री गर्ने भएकाले १५ वर्षको अवधिलाई नै मुख्य आधार लिई बोनस दर कायम गरिन्छ । सोही आधारमा करिब ६ वर्षसम्म १५ वर्षसम्मको सावधिक जीवन बीमा बोनस दर ६५ प्रतिशत कायम राखेको नेपाल लाइफ इन्सुरेन्स कम्पनीको बोनस दर २०७६ सालबाट भने लगातार घटिरहेको छ ।

नयाँ नयाँ इन्सुरेन्स कम्पनीहरूको स्थापना, लगानीको क्षेत्रमा सीमितता गरिएको लगानीबाट न्यून मुनाफा आदि कारणबाट नेपाल लाइफ इन्सुरेन्सको नाफामा लगातार गिरावट आइरहेको कारण उसको बोनस दरमा पनि लगातार गिरावट आइरहेको हो ।

अहिले नेपाल लाइफ इन्सुरेन्सले बेच्ने विभिन्न बीमा पोलिसीमा अवधि अनुसार बोनस दरमा कमी आएको छ । मुख्यतः १५ वर्षे अवधिसम्मको बीमाको बोनस दरमा लगातार कमी आउँदै आर्थिक वर्ष २०८०।०८१ को नाफाबाट बोनस दर ५५ प्रतिशतमा सीमित भएको छ । यसबाट बीमितले म्याच्युरिटीपछि पाउने बोनसमा पनि कमी आउने भएको छ ।

१० प्रतिशतले घट्यो बोनस दर
उदाहरणका लागि यदि तपाईँले १५ लाख रुपैयाँ बराबरको जीवन बीमा १५ वर्षका लागि गर्नुभएको छ भने पहिले तपाईँले गरेको बीमा बराबरको १५ लाख र १५ वर्षसम्म कुल रकमको प्रति हजार ६५ प्रतिशत अर्थात् कुलमा ६ दशमलव ५ प्रतिशतको गुणन गर्दा कुल ९७ दशमलव ५ प्रतिशत बोनस प्राप्त गर्दथे । यस्तो हुँदा १५ लाख रुपैयाँको ९७ दशमलव ५ प्रतिशत बोनस भनेको १४ लाख ६२ हजार ५०० रुपैयाँ बोनस र आफूले तिरेको प्रिमियम गरी कुल २९ लाख ६२ हजार ५ सय रुपैयाँ फिर्ता पाउँथे ।
तर अहिलेको अवस्थामा इन्सुरेन्सले केवल ५५ प्रतिशत मात्रै बोनस दिने भनेको छ । यो भनेको यदि १५ लाख रुपैयाँको इन्सुरेन्स १५ वर्षकै लागि गर्ने हो भने ५५ प्रतिशत बोनस प्राप्त गर्दा कुल ८२ दशमलव ५ प्रतिशत मात्रै बोनस प्राप्त हुन्छ । यो भनेको कुल १२ लाख ३७ हजार ५०० रुपैयाँ मात्रै बोनस आउँछ ।

यसमा तपाईँले तिरेको प्रिमियम १५ लाख र बोनस रकम १२ लाख ३७ हजार ५ सय रुपैयाँ बोनस गरी थप रकम आउँदा कुल २७ लाख ३७ हजार ५ सय रुपैयाँ मात्रै फिर्ता आउँछ ।

यसको मतलब इन्सुरेन्सले पोलिसी बेच्ने बेलामा भनेको ६५ प्रतिशतको बोनस घटेर ५५ प्रतिशतमा झर्दा बीमितलाई १५ लाख रुपैयाँको बीमा गर्दा २ लाख २५ हजार रुपैयाँ कम आउने भएको छ ।

घट्दो छ नेपाल लाइफको नाफा
नेपाल लाइफ इन्सुरेन्सको नाफा आर्थिक वर्ष २०७५।०७६ बाट निरन्तर रूपमा घट्न थालेपछि यसको असर बोनस दरमा पनि परेको छ । ६५ प्रतिशत बोनसबाट घट्दै ६० प्रतिशत र अहिले ५५ प्रतिशतमा सीमित छ । यदि कम्पनीले गरेको लगानीबाट नाफा कमाउन नसक्ने हो भने उक्त नाफा पनि क्रमशः घट्दै गई बोनस दर अझै कम हुने सम्भावना बढेको छ ।

बैंकको ब्याजदर घट्दा नेपाल लाइफलाई समस्या
जीवन बीमा कम्पनीहरूले पोलिसी बेचेर उठाएको रकम मध्ये पहिलो वर्ष ४३ प्रतिशत, दोस्रो वर्ष कम्तीमा १५ प्रतिशत र तेस्रो वर्षबाट १० वर्षसम्म लगातार ५ प्रतिशत कमिसन रकम बाँड्छन् ।

बाँकी रकममध्ये ६० प्रतिशत रकम बैंकमै डिपोजिट गरेर राख्नुपर्छ भने ४० प्रतिशत रकम मात्रै अन्यत्र लगानी गर्न पाउँछन् ।
अन्यत्र लगानी गर्ने क्षेत्रहरू पनि बीमा प्राधिकरणले सीमित गरिदिएको छ । २० लाख भन्दा बढीको खरिद वा लगानीमा बीमा प्राधिकरणबाट स्वीकृति लिनुपर्ने व्यवस्था रहेको छ भने बीमा कम्पनीले उद्योग, सेयर बजार, इन्भेस्टमेन्ट कम्पनी लगायतका सीमित क्षेत्रमा मात्रै लगानी गर्न पाउँछन् ।

बीमा कम्पनीहरूको नाफाको मुख्य आधार भनेको बैंकमा राख्ने संस्थागत लगानी नै हो । तर अहिले बैंकहरुले संस्थागत लगानीको ब्याजदर अत्यन्तै कम गरेको छ । फिक्स्ड डिपोजिटमा राख्दा पनि ४ प्रतिशतभन्दा बढी ब्याज दिने कुनै बैंक नरहेको कारण यतिबेला नेपाल लाइफ इन्सुरेन्सको नाफामा पुँजीको तुलनामा उल्लेख्य मात्रामा कमी आएको छ ।

कम्पनीले पोलिसी विक्री बढाएको भएपनि पुँजी अनुसारको लगानी गर्न नसक्दा र बैंकको ब्याजदरमा कमी आउँदा नाफामा गिरावट आउन थालेको छ ।

कम्पनीले पुँजी वृद्धि सँगै नाफा बढेको देखिएपनि पुँजी वृद्धि हुँदा त्यसको तुलनामा नाफाको प्रतिशतमा भने कमी आएको कारण बीमितले पाउने बोनस दर वार्षिकरुपमा घट्न थालेको छ । गत आर्थिक वर्षको नाफा नोक्सान साधारण सभाबाट पारित भएपछि बीमितले पाउने बोनस दरमा फेरि गिरावट आउने सम्भावना पनि रहेको छ ।

४५ प्रतिशतसम्म छुट दिएर पोलिसी बेचियो
नेपाल लाइफ इन्सुरेन्स कम्पनीले १५ वर्षसम्मको बीमा गर्दा एकैपटक रकम बुझाउने व्यक्तिलाई ४५ प्रतिशतसम्मको छुट दिएर पोलिसी विक्री गरेको भन्दै उजुरी समेत परेको थियो । एकैपटक रकम बुझाउनेलाई ४५ प्रतिशत छुटमा पोलिसी बेच्दा कुल २० लाख रकमको पोलिसी खरिद गर्ने व्यक्तिले एकैपटक शुल्क बुझाउँदा केवल ११ लाख रुपैयाँ मात्रै तिरे हुने गरी पोलिसी विक्री गरिएको थियो ।

इन्सुरेन्सका एजेन्टहरूले ४५ प्रतिशतसम्म छुटमा पोलिसी विक्रीको प्रस्ताव लगी कतिपय व्यक्तिलाई ४५ प्रतिशत छुटमा समेत पोलिसी विक्री गरिएको थियो ।

एकमुष्ट रकम बुझाउँदा एजेन्टले ६ प्रतिशत कमिसन एकैपटक प्राप्त गर्ने भएकाले ५१ प्रतिशत छुटमा पोलिसी विक्री भएको थियो । यस्तो अवस्थामा कम्पनीमा प्राप्त हुने रकममा उल्लेख्य कमी आएको थियो ।

त्यसबाहेक कम्पनीले गरेको अन्य लगानीबाट पनि उल्लेख्य नाफा हुन नसकेपछि कम्पनीले पुँजीको तुलनामा नाफामा वृद्धि गर्न नसक्दा यसको सिधा असर बीमितको बोनस दरमा परेको छ ।

कसरी हुन्छ बोनसको बाँडफाँट ?
इन्सुरेन्स कम्पनीहरूले वितरण गर्ने बोनस मध्ये पहिले कुल मुनाफाको ९० प्रतिशत रकम पोलिसी होल्डर अर्थात् बीमितलाई छुट्टाउँछन् । बाँकी रहेको १० प्रतिशत मुनाफाचाहिँ सेयर होल्डरहरूले प्राप्त गर्छन् । यस्तो अवस्थामा जब जब साधारण वा स.स्थापक सेयर होल्डरले प्राप्त गर्ने बोनसमा कमी आउँछ, बुझ्नुपर्छ कि यसले बीमितले प्राप्त गर्ने बोनसमा पनि असर गर्छ ।

बैंकमा फिक्स्ड डिपोजिट गर्दा ४ प्रतिशत, बीमितलाई ऋण दिँदा १० प्रतिशत ब्याज !
अन्य जीवन बीमा कम्पनी जस्तै नेपाल लाइफ इन्सुरेन्सले पनि कुल रकमको ६० रकम बैंकमै डिपोजिट गरेर राख्नुपर्छ । बाँकी रहेको ४० प्रतिशत रकम मात्रै लगानी गर्न पाउने हुन् ।

यतिबेला बैंकको ब्याजदर घटेर ४ प्रतिशतभन्दा कममा आएको छ । बीमा कम्पनीले बैंकमा रकम राख्दा पनि पाउने रकम भनेको ४ प्रतिशतभन्दा कम हो भने बैंकले पनि डिपोजिट लिन नै मान्न छाडेका छन् । ऋण लिने व्यक्ति, समूह वा व्यवसायी नआउँदा बैंकमै रकम थुप्रेको छ, जसका कारण तरलता बढ्दा बैंकले मुद्दपी निक्षेपमा रकम लिने क्रम पनि घटेको छ ।

यस्तो अवस्थामा बीमित आफैँले आफ्नो पोलिसी धितो राखेर नेपाल लाइफ इन्सुरेन्स कम्पनीबाटै ऋण लिएको अवस्थामा भने १० प्रतिशत ब्याज लिने गरेको छ । बैंकको ब्याज घटेर ४ प्रतिशत भन्दा कममा आएपनि बीमित आफैँले ऋण लिँदा पनि ब्याजदरमा कुनै कमी ल्याएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?