कर्णाली याक्सले चितवन राइनोजलाई दियो १६७ रनको लक्ष्य

लोकपथ
91
Shares

काठमाडौं । नेपाल प्रिमियम लिग (एनपिएल) दोस्रो संस्करणको दोस्रो खेलमा आज कर्णाली याक्सले चितवन राइनोजलाई जितका लागि १६७ रनको लक्ष्य दिएको छ ।  

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरको खेलमा तीन विकेट गुमाउँदै १६६ रनको योगफल बनाएको हो ।  

कर्णालीका लागि ओपनर प्रियाङ्क पन्चालले सर्वाधिक ९० रनको योगदान दिए । उनी शतक बनाउनबाट १० रनले चुके । पहिलो पटक एनपिएल खेलिरहेका पञ्चालले ४८ बलमा सात चौका र ६ छक्काको मद्दतमा सर्वाधिक ९० रन बनाएका हुन् । यस संस्करणमा अर्थ शतक बनाउने उनी दोस्रो खेलाडी बनेका छन् ।  

त्यसैगरी कर्णालीका लागि म्याक्स ओडाउडले ३० बलमा एक चौका हान्दै २० रन बनाए । मार्क वाटले २१ बलमा एक चौकाको मद्दतमा १६, पवन शर्राफले अविजित २७ तथा नाजिबुल्लाह जद्रानले अविजित चार रन बनाए । अहिले चितवन राइनोजले कर्णाली याक्सविरुद्ध जवाफी ब्याटिङ गरिरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?