राजस्व विभागको प्रतिवेदन : बक्यौता असुली लक्ष्यमा न्यून प्रगति, आयकरमै दुई खर्ब १९ अर्ब उठ्न बाँकी

लोकपथ
175
Shares

काठमाडौं ।  गत आर्थिक वर्ष २०८१/८२ सम्ममा तीन लाख ३० हजार ९१२ जना करदाताबाट  दुई खर्ब ७५ अर्ब बक्यौता कर असुली हुन बाँकी देखिएको छ ।

सोमबार सार्वजनिक गरिएको आन्तरिक राजस्व विभागको वार्षिक प्रगति प्रतिवेदनअनुसार बक्यौता बाँकी रहेका करदाताबाट  ९४ अर्ब ९५ करोड र प्रशासकीय पुनरावलोकनमा रहेका दुई हजार ९५ करदाताबाट एक खर्ब ८० अर्ब १० करोड बराबर असुली हुन बाँकी देखिएको हो ।

असुली हुन बाँकी कर बक्यौताको अवस्था हेर्दा आयकरतर्फ सबैभन्दा बढी एक लाख ९३ हजार ६२० करदाताबाट  दुई खर्ब १९ अर्ब ११ करोड उठ्न बाँकी रहेको छ । मूल्य अभिवृद्धि करतर्फ एक लाख ३७ हजार २५३ करदाताबाट  ४८ अर्ब ७० करोड, अन्तः शुल्कतर्फ ३६४ करदाताबाट चार अर्ब नौ करोड र अन्यतर्फ एक हजार ७७० करदाताबाट रु तीन अर्ब १५ करोड बराबर कर असुली हुन बाँकी छ ।

गत आर्थिक वर्षमा आन्तरिक राजस्व विभागले कर बक्यौता असुलीका लागि राखेको वार्षिक लक्ष्यको प्रगति पनि न्यून देखिएको छ । ‘बक्यौता स.कलनतर्फ आर्थिक वर्ष २०८१/८२ मा आयकरतर्फ  २२ अर्ब ७६ करोड लक्ष्य रहेकामा आठ अर्ब ७१ करोड असुल भई लक्ष्यको तुलनामा ३८ दशमलव २९ प्रतिशत प्रगति हासिल भएको छ, ‘वार्षिक प्रतिवेदनमा भनिएको छ । 

त्यसैगरी मूल्य अभिवृद्धि करतर्फ १६ अर्ब ३३ करोड बक्यौता उठाउने लक्ष्य रहेकामा ६३ दशमलव २८ प्रतिशत अर्थात्  १० अर्ब ३३ करोड असुल भएको जनाइएको छ ।

गत आर्थिक वर्षमा बक्यौता समायोजनमा आयकरतर्फ रु २७ अर्ब ३८ करोड लक्ष्य रहेकोमा  २१ अर्ब ३९ करोड प्रगति भई लक्ष्यको तुलनामा ७८ दशमलव एक प्रतिशत प्रगति भएको छ । त्यस्तै मूल्य अभिवृद्धिकरतर्फ  १८ अर्ब १७ करोड लक्ष्य रहेकामा  २२ अर्ब २९ करोड अर्थात् वार्षिक लक्ष्यको तुलनामा १२२ दशमलव ६३ प्रतिशत प्रगति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?