निजी क्षेत्रको सुरक्षामा राज्य संयन्त्र प्रभावकारी हुनुपर्छ : महासंघ

लोकपथ
56
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले विधिको शासनको पूर्ण पालन, र शान्तिपूर्ण तथा सुरक्षित व्यावसायिक वातावरण सुनिश्चित गर्न आवश्यक कदम चाल्नुपर्नेमा जोड दिएको छ । 

भदौ २३ र २४ गतेका घटना सम्बन्धी जाँचबुझ आयोग २०८२ को  पदाधिकारीसँग आज नेपाल उद्योग वाणिज्य महासंघका सचिवालयमा भएको भेटवार्ताका क्रममा महासंघले जेनजी आन्दोलनका क्रममा भएको गलत घुसपैठ र निजी क्षेत्रमाथि भएका विभिन्न आक्रमण, तोडफोड र त्यसले मुलुकको व्यावसायिक वातावरणमा पारेको असरबारे जानकारी गराएको थियो । 

सो अवसरमा आयोगका अध्यक्ष पूर्व न्यायाधीश गौरीबहादुर कार्की र सदस्यहरूले आन्दोलनका क्रममा निजी क्षेत्रले ब्यहोरेको क्षति तथा अन्य विविध विषयमा जानकारी लिएको थियो । 

निजी क्षेत्रले ब्यहोरेको क्षतिबारे जानकारी गराउँदै महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र मुलुकको अर्थतन्त्रको मेरुदण्ड भएकोले यस्ता घटना दोहोरिन नदिन निजी क्षेत्रको सुरक्षामा राज्य संयन्त्रको प्रभावकारी भूमिका हुनुपर्ने बताए । 

सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, उपाध्यहरु सुरकृष्ण वैद्य, हेमराज ढकाल, ज्योत्सना श्रेष्ठ र कोषाध्यक्ष भरत आचार्य तथा आयोगका तर्फबाट सदस्य तथा प्रवक्ता पूर्वएआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सहभागी थिए  । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?