काठमाडौं । प्रहरीले मध्यरात दुर्गा प्रसाईंलाई पक्राउ गरेको छ । हिंसा भड्किने गरी अराजक गतिविधि गर्न अभिव्यक्ति दिएको आरोपमा उनलाई सोमबार मध्यरात जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरस्थित उनकै घरबाट पक्राउ गरेको हो ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका निमित्त प्रमुख डीआईजी ओम अधिकारीका अनुसार उनलाई भक्तपुरस्थित निवासबाट सोमबार मध्यरात पक्राउ गरी काठमाडौं प्रहरी परिसर भद्रकालीमा नियन्त्रणमा राखिएको छ ।
उनलाई पक्राउ गर्न ठूलो संख्यामा प्रहरी उनको निवास पुगेको थियो ।
उनलाई कुन कसुरमा कारबाही प्रक्रिया अघि बढाउने भन्ने टुंगो लागिसकेको छैन । आज मंगलबार सरकारी वकिलसँग समेत सल्लाह गरेर उनलाई म्याद थपका लागि अदालत हाजिर गराइने एक प्रहरी अधिकृतले बताए ।
यसअघि १५ चैतको हिंसात्मक आन्दोलनका क्रममा पनि उनी पक्राउ परेका थिए । त्यसबेला भागेर भारतका विभिन्न ठाउँ हुँदै सिक्किम पुगेका उनलाई त्यहीँबाट पक्राउ गरी नेपाल ल्याइएको थियो । त्यसबेला उनी अदालतको आदेशपछि छुटेका थिए ।
प्रसाईं यसअघि दुई पटक साइबर कसुरसम्बन्धी मुद्दामा पनि पक्राउ परेका थिए । उनी तीनै वटा मुद्दामा धरौटीमा छुटेका अभियुक्त हुन् ।
आफूलाई राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति बचाउ महाअभियानका संयोजकका रूपमा चिनाउने प्रसाईंले ७ मंसिरदेखि आन्दोलन चर्काउने सार्वजनिक घोषणा गरेका थिए । आन्दोलनको तयारीमा रहेका उनी पक्राउ परेका हुन् ।
प्रसाईंले देशै ठप्प पार्ने भन्दै उग्र अभिव्यक्ति दिइरहेकोमा सुरक्षा संयन्त्रले उनलाई ‘नोटिस’ मा राखेको थियो ,
सरकारले प्रसाईंसहित अराजक अभिव्यक्ति दिनेहरूविरुद्ध कानुनी कारबाही अघि बढाउन सक्ने संकेत दिएको थियो । सिंहदरबारस्थित गृह मन्त्रालयमा आइतबार बसेको सुरक्षा समितिको बैठकमा पनि प्रसाईंसहितबाट परिस्थिति भड्काउने गरी सार्वजनिक अभिव्यक्ति आउन थालेको भन्दै त्यसलाई नियन्त्रण गर्नेबारे छलफल भएको थियो ।
बैठकमा सुरक्षा निकायका प्रमुखहरूले प्रसाईंको अभिव्यक्तिलाई गम्भीरतापूर्वक लिनुपर्ने बताएका थिए । उनको अभिव्यक्ति हिंसा भड्काउने किसिमको भएको भन्दै कारबाहीको दायरामा ल्याउनुपर्ने सुरक्षा प्रमुखहरूको भनाइ थियो ।
खासगरी उनले पछिल्लो समय ‘दूतावासमा बम पड्काएर आफूतिर आरोप लगाइदिन सक्छन्’ र देशै ठप्प हुन्छ भन्दै दिएको अभिव्यक्तिलाई सुरक्षा संयन्त्रले गम्भीर रूपमा लिएको थियो । बैठकमा नेपाल प्रहरीका प्रमुख आईजीपी दानबहादुर कार्की, सशस्त्र प्रहरी प्रहरी राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्कीले उनले दिइरहेको अभिव्यक्तिले समाजमा त्रासको वातावरण सिर्जना भइरहेको विश्लेषण सुनाएका थिए ।
पछि बैठकले प्रसाईंको नाम उल्लेख नगरी हिंसा भड्काउने, जनता आतंकित पार्ने गतिविधि गर्नेलाई निस्तेज गर्न कडाइका साथ कानुनी कारबाही अघि बढाउने निर्णय पनि गरेको थियो ।
केही दिनअघि पत्रकारहरूसँग कुरा गर्दै गृहमन्त्री ओमप्रकाश अर्यालले पनि प्रसाईंसहितका व्यक्तिहरूको अभिव्यक्तिलाई गम्भीरतापूर्वक लिएको बताएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया