काठमाडौं । जेनजी आन्दोलनपछि गठित सरकारले नेपाल प्रहरीका उच्चपदस्थ अधिकारीहरूको सरुवा र बढुवालाई प्राथमिकता दिँदा सशस्त्र प्रहरीतर्फ भने पूरै बेवास्ता गरेको पाइएको छ ।
जेनजी आन्दोलनपछि गठित पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको सरकारले नेपाल प्रहरीतर्फ रिक्त एक अतिरिक्त महानिरीक्षक (एआईजी) का लागि सिफारिस र नायव महानिरीक्षक (डीआईजी) मा ५ जनाको बढुवा गर्दा सशस्त्र प्रहरीमा भने एक महिनाभन्दा बढी समयदेखि रिक्त एक डीआईजी पदमा बढुवाका लागि सूचनासमेत प्रकाशित गरेको छैन ।
यस्तै, नेपाल प्रहरीका एआईजीहरूको ६ महिनामै जिम्मेवारी परिवर्तन गरेको कार्की नेतृत्वको सरकारले सशस्त्रमा भने १४ महिना बितिसक्दा पनि एआईजीको सरुवा गरेको छैन ।
सशस्त्र प्रहरीमा असोज २६ देखि एक डीआईजीको पद रिक्त छ । सशस्त्र प्रहरीका प्रवक्तासमेत रहेका डीआईजी कालीदास धौवजीले ३० बर्से सेवा अवधिका कारण असोज २६ गतेदेखि अनिवार्य अवकाश पाएपछि डीआईजीको एक पद रिक्त भएको हो । तर, धौवजीले अवकाश पाएकै ३५ दिन कटिसक्दा पनि बढुवा प्रयोजनका लागि सूचना प्रकाशित गरिएको छैन ।
स्रोतका अनुसार, सशस्त्र प्रहरीमा डीआईजी बढुवाका लागि महानिरीक्षक राजु अर्याल पनि इच्छुक छैनन् । गृहमन्त्री ओमप्रकाश अर्यालसँग ‘सहमति’ नभएसम्म डीआईजी बढुवाको सूचना निकाल्न उनी तयार छैनन् ।
अहिले एसएसपीको वरीयता क्रममा पहिलो नम्बरमा नेपाल प्रहरीमा प्राविधिक सईमा भर्ना भई सशस्त्रमा स्थानान्तरण भएका कृष्णराज पाठक र दोस्रो नम्बरमा प्रहरीको प्राविधिक सेवाकै प्रवीण कँडेल छन् । त्यसपछि सशस्त्र प्रहरी निरीक्षक सिसं २ बेसिकका दिगविजय सुवेदी, कमल तिउसिना, नीरकृष्ण अधिकारी, किरण बस्नेतलगायत छन् ।
एसएसपीको पहिलो वरीयतामा रहेका पाठक कमजोर कार्यसम्पादनका कारण यसअघि तीन पटकको बढुवामा छुटिसकेका व्यक्ति हुन् । पाठकपछि कँडेल छन् । तर गत ११ र १२ असारमा भएको सशस्त्र प्रहरीको वरिष्ठ अधिकृत सम्मेलनमा सशस्त्रको नेतृत्वप्रति आधारहीन आक्षेप लगाएका कारण उनीप्रति आईजीपी अर्याल असन्तुष्ट छन् । त्यसमा पनि उनी नेपाल प्रहरीमा प्राविधिक सईमा भर्ना भएर सशस्त्र प्रहरीमा स्थानान्तरण भएका हुन् । आईजीपी अर्याल प्रहरीबाट आएका दुवै जनालाई अहिले डीआईजी बनाउन सहमत छैनन् ।
आईजीपी अर्याल डीआईजीका लागि तत्कालै सूचना निकाल्ने पक्षमा नहुनुको अर्को कारण हो, आगामी पुस तेस्रो सातापछि थप तीन जना डीआईजीको पद रिक्त हुँदैछ । एआईजी गणेशबहादुर ठाडामगरका ब्याचीहरु कमल गिरी, कुलबहादुर नेम्वाङ र आईजीपी राजु अर्यालका ब्याची शम्भु सुवेदीको पद रिक्त हुन लागेको हो । उनीहरूको अवकाशपछि डीआईजीको ४ पद रिक्त हुँदैछ । उनीहरू अवकाशमा गएपछि सिसं २ सशस्त्र प्रहरी निरीक्षक बेसिकका एसएसपीलाई बढी प्राथमिकता दिने गरी बढुवा गर्ने योजनामा सशस्त्र प्रहरी महानिरीक्षक अर्याल रहेको स्रोतको भनाइ छ । सिसं २ टोलीबाट दीपेन्द्र कुँवर र विष्णु भट्ट डीआईजी भइसकेका छन् ।
उता, सामान्यतः एक वर्षमा हुनुपर्ने सशस्त्र प्रहरी बलको अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा यो पटक १४ महिना बितिसक्दा पनि हुन नसक्दा तीन विभागमध्ये महत्वपूर्ण विभाग मानवस्रोतमा बंशीराज दाहाल ‘विराजमान’ छन् । मानवस्रोतमा दैनिक प्रशासनको मात्रै काम चलाउँदै आएका दाहाललाई २०८१ साल भदौ १३ गते बसेको केपी शर्मा ओली नेतृत्वको तत्कालीन मन्त्रिपरिषद् बैठकले मानवस्रोत विभागमा सरुवा गरेको थियो । त्यसै दिनको मन्त्रिपरिषद् बैठकले पहिलो वरीयताका एआईजी नारायणदत्त पौडेललाई कार्य विभागमा र दोस्रो वरीयताका एआईजी चन्द्रप्रकाश गौतमलाई सीमा सुरक्षा विभागमा सरुवा गरेको थियो ।
गौतमले अनिवार्य अवकाश पाइसकेका छन् भने उनको ठाउँमा ठाडामगर आएका छन् । ठाडामगर गौतमले सम्हाल्दै आएको सीमा विभागमै पदस्थापन भएका हुन् ।
गौतम सीमा विभागमा हुनुअघि मानवस्रोत विभागमा थिए । उनलाई सो विभागमा एक वर्ष पनि बस्न दिइएको थिएन । कडा स्वभावका गौतमले त्यसबेला मानवस्रोतमा बसेर सुधारका प्रयत्न पनि गरेका थिए । तर एआईजी दाहालले उनलाई त्यहाँ एक वर्ष पनि बस्न दिएनन् ।
कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा दरबन्दी थपेर एआईजी बन्न सफल दाहाल सीमा, कार्य हुँदै मानवस्रोत विभागमा आएका हुन् । २०७९ साल असोज २८ गते उनी एआईजीमा बढुवा भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया