काठमाडौं । मधेस प्रदेशको सरकार गठनविरुद्ध बहुमत सांसदले दर्ता गराएको रिटको दोस्रो सुनुवाइ आज न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नृपध्वज निरौलाको इजलासमा हुने भएको छ ।
मधेस प्रदेशको मुख्यमन्त्री विवादमा ७४ सांसदले दर्ता गरेको रिटलाई लिएर दुवै पक्षको बहस हुन लागेको हो । एमालेबाहेकका ७४ सांसद यादवलाई मुख्यमन्त्री बनाउने निर्णय बदर हुनुपर्ने माग गर्दै सर्वोच्च अदालत पुगेका थिए ।
कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव, जसपा नेपाल संसदीय दलका नेता सरोजकुमार यादव, माओवादी केन्द्र संसदीय दलका उपनेता युवराज भट्टराई, लोसपा संसदीय दलका नेता जयलुन राईसहितका नेता सर्वोच्च पुगेका थिए ।
तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले होटलमै एमाले सांसद सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेपछि विवाद सर्वोच्च अदालत पुगेको हो । त्यसको राजनीतिक, संवैधानिक तथा नैतिक रूपमा गलत भन्दै आलोचना भएसँगै विवाद अदालतसम्म पुगेको हो ।
सर्वोच्चले कात्तिक २३ गते यादवलाई मुख्यमन्त्री नियुक्ति गर्नेसम्बन्धी सम्पूर्ण फाइल पेस गर्न आदेश गरेको थियो भने आइतबारका लागि सुनुवाइको मिति पनि तोकेको थियो ।
त्यसपछि न्यायाधीश नित्यानन्द पाण्डेको एकल इजलासले निवेदकले माग गरेको अन्तरिम आदेश जारी गर्ने विषयमा दुवै पक्षको छलफल गर्नुपर्ने भन्दै ३० गतेका लागि इजलासले नै पेसी तोकेको थियो । यही विवादमा गत मंगलबार अन्तरिम आदेशसमेत जारी भएको थियो । सर्वोच्चले मुख्यमन्त्री नियुक्त भएका यादवलाई दीर्घकालीन निर्णय नगर्न पनि भनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया