काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ मा निर्वाचन निश्चित मितिमै हुने बताएका छन् । दक्षिण कोरियामा रहेका उनले नेपाल पत्रकार महासंघ, कोरिया शाखासँगको अन्तर्क्रियामा भयरहित निर्वाचनका लागि वातावरण तयार भइसकेको जानकारी दिए ।
मन्त्री खरेलले भने, ‘नेपाल प्रहरीमा नयाँ नेतृत्व आएको छ । कुनै पनि राजनीतिक दलले चुनावमा नजाने भनेको छैन । निर्वाचनका लागि सुरक्षा वातावरण सुनिश्चित छ ।’
उनले सरकार र राजनीतिक दलले निर्वाचन र सुशासनको वातावरण बनाउन पहल गर्नुपर्नेमा जोड दिए । जेनजी आन्दोलनको आधारमा बनेको अन्तरिम सरकारको प्राथमिकता निर्वाचन, भ्रष्टाचार नियन्त्रण, रोजगारी प्रवर्द्धन रहेको उनले बताए ।
खरेलले एआई र डिजिटल ट्रान्सफरमेसन नेपालका लागि भविष्यको आधार भएको बताए । कोरियाबाट प्राप्त अनुभव र सीप प्रयोग गर्दै भर्खरै स्थापित राष्ट्रिय एआई केन्द्र विस्तारका लागि कोरिया सरकारसँग सहयोगको अपेक्षा राखेका छन् ।
विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गर्न अध्यादेशमार्फत प्रक्रिया अघि बढेको उनले बताए । कोरियामा नेपालीहरूको समस्या समाधान र दूतावास–एनआरएनएको समन्वयलाई पनि मन्त्री खरेलले महत्वपूर्ण बताए ।
कार्यक्रममा सहभागीहरूले नेपालमा ऊर्जा, पर्यटन, व्यवसायमा लगानी प्रवर्द्धन गर्न सुझाव दिएका थिए । दक्षिण कोरियामा झण्डै एक लाख नेपाली काम, अध्ययन र व्यवसायमा छन् ।
मन्त्री खरेलले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कात्तिक २५ गते दक्षिण कोरिया प्रस्थान गरेका थिए । कोरियाको एमएसआइटी मन्त्रालय र एनआइए द्वारा संयुक्त रूपमा आयोजना गरिएको फोरममा सहभागी भएका उनले आज साँझ स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया