वडाध्यक्ष विन्देश्वर यादवमाथि प्रहरीले नै गोली हानी हत्या गरेको खुलासा

आरोपित प्रहरी जवान यादव बिदामा घर आएका थिए  

लोकपथ
3.9k
Shares

काठमाडौं ।  धनुषाको मिथिला बिहारी नगरपालिका–९ का वडाध्यक्ष विन्देश्वर यादवमाथि प्रहरीले नै गोली प्रहार गरी हत्या गरेको खुलासा भएको छ ।

मिथिला बिहारी नगरपालिका–९ स्थित अन्दुपट्टीमा १३ औँ दिनको मृत्यु संस्कारमा सहभागी हुन गएका वडाध्यक्ष यादवमाथि शुक्रबार साँझ ६ बजे गोली प्रहार भएको थियो । स्थानीय धर्मराज यादवले गालीगलौज गरेपछि विवाद सिर्जना भएको थियो । वडाध्यक्षमाथि धर्मराजकै आफन्त पर्ने प्रहरी जवान शम्भु यादवले गोली प्रहार गरेका थिए । उनी गोली प्रहारपछि फरार छन् । सप्तरीको एक प्रहरी चौकीमा दरबन्दी रहेका उनी बिदामा घर आएको बताइएको छ । बिदामा घर आउँदा उनले प्रहरीकै हतियार बोकेर आएको हुनसक्ने आशंका गरिएको छ ।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी गणेश बमका अनुसार घटनामा संलग्न रहेको प्रत्यक्षदर्शीको भनाइअनुसार प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ ।

‘घटनामा ३÷४ जनाको संलग्नता भएको स्थानीयले बताएका छन्, त्यसै आधारमा हामीले एकजनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएका छौँ,’ उनले भने ।

घटनामा अन्य सात जना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ ।

वडाध्यक्ष यादव २०७९ मा भएको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?