काठमाडौं । निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभूति गर्न नपाएको गुनासो गरेका छन् । उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई सरकारले पूर्ण सुरक्षाको प्रत्याभूति गराउन नसकेको बताए ।
आगजनीमा संलग्नलाई अझै कारबाही नभएको भन्दै उनीहरुले तत्काल कारबाहीको माग समेत राखेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जान श्रेष्ठले निजी क्षेत्र अहिले चुनौतीपूर्ण परिस्थितिबाट अघि बढ्नुपरेको बताएका छन् ।
राजधानीमा भएको बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)को वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले गत वर्षका सूचकहरु हेर्दा अर्थतन्त्र सकारात्मक देखिए पनि अहिले अत्यन्तै अप्ठ्यारो स्थितिको सामना गर्नुपरिरहेको बताए । उनले आन्दोलनका कारण फरक परिस्थिति सिर्जना भएको भन्दै व्यक्तिवादी आक्रमणलाई राज्यले छुट दिन नहुने बताए ।
कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले जेनजी पुस्ताले गरेको आन्दोलनपछि मुलुक चुनावतर्फ अग्रसर भएको भन्दै यसलाई सकारात्मक रुपमा हेरिनुपर्ने बताए । भ्रष्टाचार निवारण, पारदर्शी, नीतिगत स्पष्टता आफूहरूको समेत उठाउँदै आएको बताउँदै जेनजीहरु उठाउँदै आएका मागहरू पूरा हुनुपर्नेमा जोड दिए । पाण्डेकाअनुसार नयाँ सरकार गठनसँगै राष्ट्र बैंकले लिएका पछिल्ला नीतिहरुले समेत त्यो सन्देश दिएको छ । जेनजी आन्दोलनले पारेको असरलाई समेत समेटेर परिसंघले अध्ययन समेत गरिरहेको बताए ।
उनले जनयुद्धहरु भोगिसकेको अर्थतन्त्र र निजी क्षेत्रले जेनजी आन्दोलनको समेत सामाना गर्ने बताए ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले जेनजी आन्दोलनपछि लगानीकर्तामा निराशा छाएको बताए । उनले सरकारले तत्कालै सुरक्षाको प्रत्याभूति गर्न जरुरी रहेको बताउँदै राष्ट्र बैंकले समेत प्रभावकारी नीति अंगिकार गर्नुपर्नेमा जोड दिए ।
उनले सरकारले लिने नीतिगत कुराहरु छिनछिनमा परिवर्तन हुँदा निजी क्षेत्रलाई मार पर्ने गरेको बताए । प्रतिस्पर्धी कर नीति हुन जरुरी रहेको बताउँदै सरकारले यसमा ख्याल गर्नुपर्नेमा उनले जोड दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया